माओवादी पनि एमालेकरण हुने संकेतहरू देखिएका छन्
राजावादीका सम्बन्धमा दुईसाता अघि तपाईले के भन्न खोज्नुभएको वास्तविक कुरोचाँहि के थियो?
– मैले भन्न खोजेको कुरा के थियो भने अब राजाले देश बचाउँछन् भन्ने कुरा त गयो। तर, राजा र राजतन्त्रबाट नै यो देशको सुरक्षा हुन सक्छ भनेर ठान्ने थुप्रै देशभक्तहरू छन्। राष्ट्रको माया गर्ने ती सबै मान्छेहरूसित सहकार्य गरेर, सबैलाई समेटेर जानुपर्छ भन्ने मेरो तात्पर्य थियो। वास्तवमा मैले नयाँ नेपालमा समग्र नेपालीहरू अट्छन् भन्ने सन्देश दिन खोजेको हो। हिजोको राजतन्त्रवादी भए पनि अब बदलिँदो परिस्थितिमा गणतन्त्र र नयाँ नेपालको एजेण्डलाई आत्मसात् गरेर आउनेहरूलाई हामीले स्वागत गर्न सक्नुपर्छ, उनीहरूसित सहकार्य गर्न सक्नुपर्छ र उनीहरूलाई सम्मान पनि गर्न सक्नुपर्छ भन्न खोजेको हो मैले। नयाँ नेपाल बनाउने हो भने संकीर्ण हिसाबले मात्रै सोच्नु हुँदैन भन्न खोजेको थिएँ मैले।
अहिले नेपालमा माओवादीको एउटा धार छ, संसदवादीहरूको एउटा धार छ र हिजोका राजावादी भन्नेहरूको पनि एउटा धार छ। यी धारहरूलाई निषेध गर्न सक्ने स्थिति हो कि होइन त? संघीय लोकतान्त्रिक गणतन्त्रले त अब सिद्धान्तको तहमा आमरुपमा मान्यता पाइसक्यो। तर, त्यो भोलिको संघीय गणतान्त्रिक लोकतन्त्रमा हिजोका गणतन्त्रवादीहरू जो आफूलाई रुपान्तरण गर्न चाहन्छन्, तिनीहरूलाई समेटेर लाने हो वा होइन भन्ने प्रश्नलाई मैले सम्बोधन गर्न खोजेको थिएँ। तर त्यहीनेर हुनुपर्ने टीका टिप्पणीमा चाँहि ‘ल अहिल्यै राजावादीसित, राजतन्त्रसित सम्झौता गर्न खोज्यो’ भनेर टीका टिप्पणीहरूश्र आए। यहीँनेर मैले अतिरञ्जित भयो भनेको हो।
तपाईले बोलेपछि राजावादीहरू खुशी भैराखेका छन्, प्रकाशचन्द्र लोहनीहरूले पनि तपाइको भनाइलाई स्वागत गरे। यही मौकामा खुमबहादुरहरूले पनि राजाको पक्षमा वकालत गरे । तपाईको कुराले अलिकति भए पनि राजावादीहरूलाई हौस्याएन र?
– त्यो एउटा टिप्पणीचाँहि आएको छ। यस्तो टिप्पणी आउन पनि सक्छ, जहाँसम्म खुमबहादुर, गोविन्दराज जोशीहरूले जसरी बोलेका छन्, त्यो त माओवादीहरूले ठीक गरे भनेर होइन, माओवादीहरूले सखाप पारे,माओवादीसित शान्ति सम्झौता गर्नु पनि गल्ती थियो र बाह्रबूँदे समझदारी पनि गल्ती थियो भनेका छन्। त्यहाँ त कुनै पनि साइनो मिल्दैन। यिनीहरूले जुन टाइम चुने त्यसित कुनै संयोग छ कि भन्न त सकिन्छ, तर माओवादीले राम्रो गर्यो भनेर उनीहरूले कहीँ पनि टिप्पणी गरेका छैनन्। खराबलाई त मेले अपील गरेकै होइन। खराबलाई कारवाही गर्नुपर्छ भन्ने त छँदैछ। दोस्रो कुरा, यहाँ राप्रपाको अधिवेशन पनि भयो। उनीहरूलाई विस्तारै राजतन्त्र निरपेक्ष हुनका लागि मेरो भनाइले प्ररित गर्यो भन्ने लागदछ। गणतन्त्रतिर अगाडि बढ्नका लागि भोलिको नयाँ नेपालमा हामीलाई पनि त सम्मान हुने रहेछ भन्ने सन्देश राप्रपालाई समेत गएको छ र उनीहरू प्रेरित भएका छन् । यो पो सत्य हो त।
आर्मी र प्रहरीलाई पनि प्रभावित पार्ने उद्देश्य पनि थियो कि यसमा ?
– कुनै खास संस्थालाई मात्रै नभएर, चाहे त्यो आर्मी, ब्यूरोक्रेसी वा राजनीतिभित्र होस्, देशको मायाँ गर्ने जतात्यतैका देशभक्तहरू एकठाउँमा आउनुपर्छ र नयाँ नेपालको निर्माणमा सहकार्य गर्नुपर्छ भनेर सबैलाई टार्जेट गरिएको हो। कतिपय मान्छेका टिप्पणी आए, कतिपय सम्पादकीयहरू पनि आए,त्यसरी सेनालाई भड्काउनको निम्ति, अथवा पुलिस र ब्यूरोक्रेसीलाई भड्काउनका निम्ति मैले भनेको होइन। देशको ऐतिहासिक आवश्यकता यही भएको छ, राष्ट्रियताको पक्षमा हामी दृढतापूर्वक उभिनुपर्ने छ। हामी जहाँ भए पनि अबको नयाँ नेपालको निर्माण प्रक्रियामा हामी आउन सक्नुपर्छ भनेर अलिकति माथिबाट मैले भन्न खोजेको हो। तलबाट कसैलाई फुटाउने, कसैलाई जुटाउने छुद्र राजनीतिभन्दा पनि राष्ट्रको भविश्यलाई हेर्दा जे देखिएको छ, त्यो भनिएको हो। एउटा लिडरसीपले यो देशलाई कसरी अगाडि लैजाने भन्ने बारेमा मैले धेरै सोचे सम्झेर बोलेको हुँ। मलाई सेना भड्काउनु अथवा पुलिस भड्काउनु छैन। सेनाभित्र पनि देशको माया गर्नेहरू छैनन् भन्ने कुरै होइन। देशको मायाँ गर्ने टे्रन नै नेपाली सेनाभित्रको मूल टे्रन हो। राजाले मात्रै गर्न सक्छ भन्ने भ्रम हिजोसम्म सेनामा थियो। अहिले जनयुद्ध र जनआन्दोलनपछि यो भ्रम विस्तारै टुटेको छ। देश बचाउने देशभक्तहरूले हो, जनताले हो भन्ने चेतना बिस्तारै नेपाली सेनामा पनि आएको छ, पुलिसमा पनि आउँदैछ, ब्यूरोक्रेसीमा पनि आउँदैछ भन्ने मलाई लाग्छ। र, हामी सबैले यो प्रवृत्तिलाई प्रेरित गर्नुपर्छ प्रोत्साहित गर्नुपर्छ, एकतावद्ध गर्नुपर्छ अनिमात्रै नयाँ नेपाललाई संस्थागत गर्न सकिन्छ। त्यसलाई फुटाउन खोज्यो भने संस्थागत हुँदैन। त्यसैले यो सेना फुटाउने कुरा पनि होइन र राजनीतिक प्रवृतिलाई फुटाउने कुरा पनि होइन।
अहिले देशमा विदेशीको हस्तक्षेप र चलखेल अलिकति बढेकै छ। मधेशमा घटनाक्रम जसरी अगााडि बढिरहेको छ,त्यसले हामी सबैलाई सम्वेदनशील बनाएको छ। त्यसैले मेरो अपील मधेशी जनतालाई पनि र मधेशी बुद्धिजीवीहरूलाई पनि हो। त्यो अपील त्यहाँ पनि हो। देशभक्तहरू राष्ट्रवादीहरू एकठाउँमा हुनुपर्छ भन्ने अपील मधेशी जनतालाई पनि हो। सबै जनजातिलाई पनि हो।
राजा र राजतन्त्रबाट नै यो देशको सुरक्षा हुन सक्छ भनेर ठान्ने थुप्रै देशभक्तहरु छन्
तपाईको अभिव्यक्तिबाट यदि राजा ज्ञानेन्द्रले मेरो पक्षमा प्रचण्ड केही नरम भए भन्ने ठानेका रहेछन् भने उनलाई के भन्नुहुन्छ?
– ज्ञानेन्द्रले त्यसरी ठानेका छन् भने उनले नेपाली जनताको पक्षमा स्वयंसेवी हिसाबबाट बलिदानी गरेर देखाउनु पर्दछ।यदी साँच्चै प्रचण्डको यो अभिव्यक्तिले आफूलाई एउटा म्यासेज छ भन्ने उनले ठानेका छन् भने र उनलाई देशको अलिकति पनि माया छ भने अब इतिहासको आवाजलाई पनि, जनताको आवाजलाई पनि उनले विचार गरेर स्वेच्छिक वलिदानी गरिदिए, पद त्यागिदिए भनेचाँहि मैले के ठान्नेछु भने ज्ञानेन्द्रलाई पनि म्यासेज हो, सम्पूर्ण राष्ट्रवादीहरूलाई म्यासेज हो र यो ठीक ठाउँमा गयो।
गिरिजाले ०४६ सालमा खुल्लामञ्चमा भाषण गर्दा यो जीत पञ्चको पनि हो भन्दा ठूलो हुटिङ भएको थियो, आखिर उनले पनि नेताको हैसियतले अभिभावकत्व जनाउन खोजेका पो थिए कि? गिरिजा त्यो भनाइ र तपाईको भनाइमा के फरक छ?
– आकाश जमीनकै फरक छ, मैले यो राजतन्त्रको पनि जीत हो र गणतन्त्रको पनि जीत हो भनेकै छैन। राजतन्त्रले देशलाई बचाउन सक्ने सम्भावना भनेर बोलिसकेपछि हिजो राजाले बचाउँछन् भनेर ठान्ने राष्ट्रवादी भावना भएका सबै मान्छेहरू एकठाउँमा आउनुपर्छ र सहकार्य गर्नुपर्छ भनेको छु मैले। यहाँ पञ्चको पनि जीत, कांग्रेसको पनि जीत भनेजसरी तुलना गर्न मिल्दैन।
सहमतिमा चलेको हुनाले अहिले राजावादीको पनि शक्ति छ भन्ने कुरा हिजो मदन भण्डारीले दरबार पनि एउटा शक्ति हो भनेको कुरासित मेल खाँदैन ? हिजो भण्डारीले त्यसो भन्दा उनीमाथि निकै ठूलो आलोचना भएको थियो। ०६२/०६३ को आन्दोलनले ०४६ सालमा जसरी राजतन्त्रलाई शक्तिको रुपमा मान्यता दिएको छ र ?
– राजावादीको शक्ति भन्नुभन्दा पनि एउटा कुरा के हो भने सत्यलाई हामीले मान्नै पर्ने हुन्छ। सत्यलाई त्यत्तिकै बल मिच्याइ गरेर त हुँदैन। हिजो राजाको वरिपरि बस्ने हिजो राजतन्त्रले नै यो देशको रक्षा गर्न सक्छ भन्ठान्ने मान्छेहरू सबै बद्मास थिए भनेर विश्लेषण गर्नु सही हुँदैन। त्यस्तो नभई ३० वर्ष पञ्चायत चल्यो भन्ठान्नु पनि त्यो वस्तुगत सत्य होइन। गाउँघरमा हाम्रा बा-आमाले राजा विष्णुको अवतार हो भन्ने ठान्दथे। अब उनीहरू सबैलाई हामीले बद्मास भन्न मिल्छ त ?
राजावादी-राष्ट्रवादीहरूले चाहे भने नेकपा माओवादीमा प्रवेशका लागि ढोका खुल्ला छ कि छैन?
– राजनीतिक तहमा भोलिको सिस्टममा तिनीहरू आउन सक्छन्। राप्रपा राजतन्त्र निरपेक्ष भएर अगाडि आयो। यो खुसीकै कुरा हो। हामीले अझ प्रेरित गरेर दुईस्टेप अगाडि साँच्चै गणतन्त्रमा आइपुग्यो भने त्यो खुशीकै कुरा हो। यस्तो सोच्ने कुरा कसरी गलत हुन्छ?
राप्रपा र राजपामा नअटाएका मरिचमानसिंह, सूर्यबहादुर सेन ओलीजस्ता मान्छेहरू हामी माओवादीमा प्रवेश गर्छाैं भन्दै आए भने ?
– उनीहरूलाई ढोका खुल्ला छ। व्यक्तिगतरुपले अपराधमा संलग्न नभएका, यसरी नै देशको रक्षा हुन्छ भनी ठानेका त्यस्ता व्यक्ति वा संघसंस्थाहरूसँग हातेमालो गर्न हामी तयार छौं। उनीहरूलाई हामी स्वागत नै गछर्ौं। नत्र कसरी राष्ट्रवादी शक्तिहरू एकठाउँमा पार्न सकिन्छ? मैले केही नयाँ कुरा नै भन्न खोजेको हो, पुरानो कुरा दोहोर्याउन खोजेको होइन। तपाइले भनेका मान्छेहरूसित हामीले सहकार्य गर्न खोजेकै हो, गरिपनि राखेका छौं। यो गर्न जरुरी छ भन्ने पनि लागेको छ।
तपाईहरूले राष्ट्रियताको अडान छाड्न थालेको आरोप छ नि?
– राष्ट्रियताको कुरा गर्दा हामीले आन्तरिक र बाह्य दुईवटा पक्षलाई जेाड दिएका छौं। आन्तरिक राष्ट्रियता सुदृढ नभई बाह्य राष्ट्रियता सुदृढ हुँदैन। हिजो संकीर्ण सोचाइ के भयो भने राष्ट्रियता भनेको भारतको विरोध गर्नुमात्रै हो र लोकतन्त्र भनेपछि विदेशीको दलाली गर्ने जस्तोमात्रै भयो। लोकतन्त्रको परिभाषा पनि संकीर्ण र राष्ट्रवादको परिभाषा पनि संकीर्ण थियो।
राजतन्त्र र सामन्तवादको भ्रममा परेका सामन्त र दलालमात्रै छन् त ? त्यहाँभित्र पनि थुप्रै राम्रा मान्छेहरु छन् ।
राजाका नजिकका मान्छे भनेका सामन्त र दलाल पूजीँपति वर्गका मात्रै छन् भनिन्छ। तपाईले राम्रा राष्ट्रवादी कसलाई भन्न खोज्नुभएको हो?
– हामीले गणतन्त्रवादी भएपछिचाँहि परीक्षा दिनु परेको छैन। राजतन्त्र र सामन्तवादको भ्रममा परेका सामन्त र दलालमात्रै छन् त?त्यहाँभित्र पनि थुपै्र राम्रा मान्छेहरू छन्। गाउँघरमा जानुभयो भने त तपाईहामै्र मान्छे पर्छन्। तिनलाई हामीले नयाँ नेपालतिर डोर्याउने कि धकेल्ने?
चुनावमा भोट तान्नलाई प्रचण्डले राजावादीलाई फकायो, पनि भन्छन् नि ?
– संकीर्ण राजनीति गर्ने दृष्टिकोणले हेर्यो भने त जता-जता हिसाब गरे पनि हुन्छ। भोलिको नयाँ नेपाल निर्माण गर्ने कुारसित यो सम्बन्धीत छ, दुईचारवटा भोट घटाउने-बढाउनेसित यो सम्बन्धित छैन। यसो भन्नु भनेको मेरो भनाइको अवमूल्यन गर्नु र नयाँ नेपाल बनाउने कुराकै विरोध गर्नु हो।
प्रकाश कोइरालासित भेट भएको सत्य हो ?
– प्रकाश कोइरालासित दुई-अढाइ महिनाअघि महराजीको भेट भएको हो। हिजोअस्ति भेट भएजस्तो गरेर आएको समाचार सत्य होइन। दुईतीन महिनाअघि प्रकाशले भेटौं भन्दैछन् के गरौं भनेर मलाई सोध्नुभएको थियो, मैले भेट गर्नाेस् भनिदिएँ। भेट्न नहुने त के छ र?उहाँ सरकारमा भएका बेलामा जसलाई पनि त भेट्न हुन्छ नि। भेटेकै कुरालाई यत्रो विषय बनाउनु भनेको चियाको कफमा तुफानजस्तै मात्र हो। माओवादीले कसैलाई भेट्नै नहुनेजस्तो। सबैलाई भेट्न हुन्छ, हामी भारतीय, चाइनिज, अमेरिकी, यूरोपियन, हिजोका राजावादी, हिजोका अञ्चलाधीश, हिजोका मन्त्री, सबैलाई भेट्छौं। किन नभेट्ने हामीले?
राजालाई?
– अहिले राजालाई भेट्नु पर्ने आवश्यकता मैले देखेको छैन।
अमेरिकासित सम्बन्ध सुधि्रएको र अमेरिकाले चिठी पनि लेखेको कुरा आएको छ, के छ त्यो चिठीमा?
– अमेरिकासित सम्बन्ध सुधि्रएको भन्नेकुरा सत्य होइन। अमेरिकाले हाम्रो पार्टीलाई आतंककारी कित्ताभित्र राख्ने जुन काम गरेको छ, त्यो नबदलिएसम्म सम्बन्ध सुधि्रयो भन्ने कुराको कुनै बस्तुगत आधार बन्दैन। तर, व्यवहारिक रुपले हिजो मोरियार्टी राजदूत हुँदाका स्थिति र अहिलेको स्थितिमा फरक आएको छ। यो सबै दुनियाँले पनि देख्यो। एक आर्काको स्थिति के हो भन्नेबारेमा कम्युनिकेशन हुन थालेको छ। यो आफैंमा एउटा परिवर्तनको संकेत हो। पहिला भिस्सा नै दिन मान्दैनथ्यो, अहिले हाम्रा साथीहरू अमेरिका जाने, घुम्ने हुन थाल्यो। यसले पनि अलिकति पहिलाको जस्तो स्थिति रहेन भन्ने देखाएको छ। तर, सम्बन्धै सुधि्रयो भन्नका लागि त अमेरिकाले हामीमाथि लगाएको आतंककारीका आरोप नहटाएसम्म त के सुधि्रयो भन्ने र?
अमेरिकाले लेखेको पत्रमाचाँहि के छ?
– केही केही विषयहरूमा सरकारकै आधिकारिक मान्छेहरूबाट प्रश्न, स्पष्टीकरणहरू सोधिएका छन्।
अमेरिकासित सम्बन्ध सुध्रियो भनेजस्तै भारतसित चाँहि बिग्रियो रे नि?
– पहिले भारतले जे भन्यो त्यही माओवादीले मान्ने गरे भनेर प्रचार भयो, त्यो पनि सही थिएन, अहिले भारतसित बिग्रियो भनेर प्रचार हुन थालेको छ, त्यो पनि सही होइन। हाम्रो पार्टीको आफ्नै स्वतन्त्र नीति छ। हामीले आफ्नो देशको आवश्यकता अनुसार भारत, चीन, अमेरिका, युरोप आदिसित सम्बन्ध बनाउँछौं। अर्काे हामीले विदेश नीति बनाउँदा नेपालको स्वतन्त्रतालाई केन्द्रविन्दूमा राखेर बनाउने हो। त्यसो गर्दा कुनै खास इस्युमा भारतसित कुरा मिल्नु, अर्काे इस्युमा चाइनासित मिल्नु, यस्तो भइराख्छ, भइराख्ने कुरा हो। तर नेपालको राजनीतिमा यो एकम वर्षमा मलाई के अनुभव भयो भने हामी असाध्यै संकीर्ण हुँदै पो गइरहेका छौं। एउटा इस्युमा केह िभयो भने ल भारतको भईहाल्यो भनेर प्रचार गरिन्छ। अस्ति दूतावासको कुरा पनि अतिरञ्जितै भयो भन्ने मलाई लागेको छ। एउटा कुरामा विरोध भयो भने ल, भारतविरोधी भयो भन्ने ठान्ने गरिन्छ।
हामीले जनयुद्ध शुरु गर्नुभन्दा अगाडिदेखि हामीले राजापरस्त, कांग्रेसपरस्त, भारतपरस्त आदि पुच्छरवादी सबै पुच्छरवादी प्रवृत्तिको विरोध गर्दै आएका छौं। जनयुद्ध शुरु गर्दा हामीले राष्ट्रघातका विरुद्ध शुरु गर्यौं। हामीले ४० सुत्रीय माग बनाउँदा पनि धेरैजसो राष्ट्रियताका मागहरू उठाएका छौं। राष्ट्रघाती सन्धी सम्झौताको विरोध गर्यौं। जनयुद्धको पहिलो ५ वर्ष हाम्रो संघर्ष विदेशीको दलाली गर्ने सरकारका विरुद्ध केन्द्रित भयो। त्यतिबेला हामीले राजा वीरेन्द्रसित कार्यगत एकता भनेर खुल्लै भनेका हौं, लुकाएनौं। पछि दरबार हत्याकाण्ड भएपछि हामीले के देख्यौं भने त्यो ०४६ सालको उपलब्धिका विरुद्ध पनि यो परिलक्षित छ र, हामीले उठाएको सामाजिक आर्थिक राजनीतिका विरुद्धमा पनि परिलक्षित छ। त्यसपछि हामीले आफूलाई लोकतन्त्रमा केन्द्रित गर्यौं। अघिल्लो ५ वर्षमा राष्ट्रियता र पछि लोकतन्त्रमा जोड, यही त स्वतन्त्र नीति हो।
तपाई पहिले खुलेर भारतीय विस्तारवाद भन्नुहुन्थ्यो, अहिले कूटनीतिक भाषा प्रयोग गर्न थाल्नुभएको छ। यतिबेला नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको छ भनिरहनु भएको छ, कोबाट भइरहेको छ त्यस्तो हस्तक्षेप?
– सोझै के हो भने मधेशमा भएका घटनाक्रम सबैलाई थाहा छ, त्यो देशका राजदूत जनकपुर, वीरगञ्ज गएर भाषण गर्दै माओवादीका विरुद्ध लड्नुपर्छ भनेर हिँड्नु यो हस्तक्षेप होइन त? अनि भारतका कतिपय कोही बहालवाला त कोही भूतपूर्व, त कोही पार्टीका नेताहरू विहारमा, पटनामा सभा गरेरमाअेावादीको प्रभाव मधेशमा बढेको छ, तिनका विरुद्ध लड्न जाऔं भन्नु त्यो हस्तक्षेप होइन? त्यहाँबाट भाडाका गुण्डाहरू ल्याएर तराईमा हाम्रा मान्छेहरूको हत्या गर्नु त्यो विदेशी हस्तक्षेप होइन? यो नाङ्गै हस्तक्षेप हो।
पार्टीले तीनमहिने शुद्धीकरणको तयारी गर्दैछ रे नि?
– हामी शान्ति प्रक्रियामा आइसकेपछि शहर-बजारमा हाम्रो संगठनको विस्तार गुणात्मक ढंगले भएको छ। हामी आउँदा यहाँ केही सय सदस्यमात्रै थिए भने अहिले उपत्यकामा ५ लाख पुगिसकेका छन्। यो तथ्याङ्क नै हो। अढाइलाख त मजदुरमात्रै छन्। सबैजसो शहर र सदरमुकाममा संख्यात्मकरुपले गुणात्मक वृद्धि त भयो, तर गुणको हिसाबले चाँहि पार्टी कमजोर भयो भन्ने लागेको छ मलाई। यो पार्टीलाई अलि शुद्धीकरण गर्नुपर्ने भउको छ। नवप्रवेशीहरूमा माओवादी के हो भन्ने बुझाइ बडो विचित्रखालको छ। उनीहरूले रियल माअेावादी बुझेकै छैनन्। उनीहरूलाई प्रशिक्षण पुगेको छैन। दोस्रो कुरा हामी शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो कार्यशैली बदलियो। ठुल्ठुला घरमा बस्ने, गाडी चढ्ने,मान्छेसितको भेटघा आदि इत्यादिले गर्दा सुविधाभोगी प्रवृत्ति आउने खतरा पनि भयो। यसलाई पनि आस्था र विचारप्रति निष्ठावान् बनाउने आवश्यकता पनि छ। यसकारण आउँदो केन्द्रीय बैठकबाट मिशन बनाएर जाँदैछौं। अब सामान्य तरिकाले हुँदैन। यसो गरिएन भने यो पार्टी पनि विस्तारै एमालेकरण, कांग्रेसकरण हुने बेर लाग्दैन। त्यस्ता संकेतहरू छन्। आउँदो केन्द्रीय बैठकमा हामी यसविषयमा बहस गछौं। योजना पनि बनाउँछांैं र एउटा मिशनका रुपमा अगाडि बढाउँछौं। मैले के सोचेको छु भने अब सात पार्टीवीच सहमति भयो भने हामी चुनावमा जनताको वीचमा जानेछौं र जनसम्बन्ध सुधारको आन्दोलन र शुद्धीकरण पनि सँगै लैजान सकिने छ।
माओवादीको प्रभाव मधेशमा बढेको छ, तिनका विरुद्ध लड्न जाऔं भन्नु त्यो हस्तक्षेप होइन ?
चुनावमा वामपन्थीको सम्भावना?
– संसदको विशेष अधिवेशनबाट बाम गठबन्धनको आधार बन्यो भन्ने मलाई लाग्दछ। त्यसको सम्भावना छ। अहिले हामी यसमा छलफल गरिराखेका छौं। राष्ट्रियता, सोना समायोजन चुनाव आदि विषयमा वामपन्थीका धारणाहरू नजिक बन्दै गएका छन्।
माओवादी एमालेजस्तो हुने खतरा छ भन्नुभो, उग्र वामपन्थी भड्कावको खतराचाँहि पार्टीभित्र कत्तिको छ?
– पार्टीभित्र विभिन्न प्रवृत्तिहरू त भैराख्छन्। हाम्रो पार्टीभित्र त्यो उग्र प्रवृत्ति केन्द्रमा आएको अहिले मैले देखेको छैन। केन्द्रमा त्यसखालको रुझान संस्थागत रुपमा देखिएको छैन। तर, तल सबैतिर देशैभरिको हेर्दाखेरि त्यो टे्रन हामीभित्र छ। साथीहरू यत्रो लडेर के पाइयो त ? फेरि छापामार युद्धमा जान पाए हुन्थ्यो,फेरि कसैलाई पिटेपछि क्रान्तिकारी भइन्थ्यो कि भन्नेखालका टे्रनहरू तलबाट यसो हेर्यो भने देखिन्छ। त्यो टे्रन छ। कतिपय घटनाहरू हामी चाँहदैनौं तर भइदिन्छन्। मलाईचाँहि साथीहरूले जनताको मन जितेर काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ। यसैकारण आफू धेरै माफी माग्ने नेता पनि भइएको छ। तर, केन्द्रमा विचारको रुपमा आएको छैन। हार्ड लाइनर र सफ्ट लाइनर भन्ने कुरा वाहीयात हो।
ठूला नेताहरू बडो तनावमा हुन्छन्। माओवादी एउटा ठूलो जेट विमानजस्तै भएको छ। तपाईलाई यो विमान हाँक्दा तनाव हुँदैन?
– मेरो तनाव बढेको त मेरो उच्च रक्तचापले नै बताउँछ। मेरो प्रेसर कहिल्यै हाइ भएको थिएन। जनयुद्धको बेलामा पनि मेरो प्रेसर नर्मल थियो, यहाँ आएपछि हाइ भयो।
कति बढ्यो ?
– भेरै होइन १० पोइन्ट बढेको छ। तर मलाई टेन्सन भयो भने पनि थोरैबेर हुन्छ। म एकठाउँ बस्दिन। ेन्सन भयो भने वातावरण बदलिहाल्छु। एक वर्षमा म जति काह िघुमेन होला, म तातोपानी पनि पुगेको हुन्छु, पोखरा, घान्द्रुक, टेन्सन हुनासाथ अलिकति वातावरण बदलिसकेपछि नर्मल भइहालिन्छ।
घान्द्रुकको यात्रा त गिरिजा बिराटनगर गएर बसेजस्तै राजनीतिक उद्येश्य थियो भन्छन् नि?
– होइन। राजनीतिक उद्देश्य थिएन। आफ्नो जन्मे हुर्केको, ८ वर्षसम्म बसेको हुनाले मलाई आकर्षित गरेको हो।
काठमाण्डौ आएपछि तौल बढेको छ कि?
– शान्ति प्रक्रियामा आएपछि ५-७ कीलो बढेको छु।
शारीरिक तौल त बढ्यो, पर्सनालिटीचाँहि तपाइको अलि घट्दैछ भन्छन् नि?
– मलाई त्यस्तो लाग्दैन। म जहाँ पनि जनताको वीचमा जान्छु। जनतामा मप्रतिको आकर्षण घट्दै गएको छ भन्ने मलाई लागेको छैन। म पोहोर आउँदा र अहिले आफूलाई उस्तै पाउँछु। तर मिडियामा चाँहि मेरो घटेको छ भन्ने मलाई थाहा छ।
यसको कारण के होला ?
– एउटा त मैले अलिकति कमजोरी गरें। मेरो कमजोरी के छ भने कसैले भनेपछि म हार्न सक्दिँन। तपाईले मेरोमा आइदिनु पर्यो भनेपछि म हार्नै सक्दिँन र हुन्छ भनिहाल्छु। म ओभर एक्स्पोज भएँ क्या। मैले त्यति ओभर एक्स्पोजहुन हुने थिएन। त्यसले मिडियामा के भैदियो भने ए… यो सस्तो भो। यसले गर्दा मिडियामा मेरो घट्यो। यसमा अरु कोही दोषी नभएर मै नै जिम्मेदार हुँ भन्ने लाग्दछ। म त सहजखालको मानछे परें हेर्नाेस्। अहिले पनि म ठूलो नेता हुँ जस्तो लाग्दैन। मैले आफ्नो स्ट्याण्डर म्यान्टेन गर्नुपर्छ भन्ने पनि लाग्दैन। शुरुमा म भूमिगत जीवनबाट भर्खर आएको हुनाले लिडरसीपलाई सबैतिर स्थापित गरौं भन्ने साथीहरूलाई भइदियो। यसले गर्दा पनि ओभर एक्स्पोज भइयो।
संसदीय राजनीतिको अनुभवचाँहि कस्तो गरिराख्नुभएको छ ?
– मसित पार्लियामेन्ट्री राजनीतिको अनुभव पनि कम भयो। यहाँ बढी हिसाब गरेर बोल्नुपर्ने, बढी डिप्लोम्याटिक हुनुपर्ने, मनमा उउटा छ भने मुखले अर्काे बोल्नुपर्ने, असाध्यै फर्मल हुनुपर्ने, हुँदो रहेछ। फर्मल हुन नजानेर र अनुभवको कमीले पनि मलाई समस्या भयो। फ्याट्ट मुखमा आयो भने म बोलिहाल्छु। आजकल अलिक रोक्नुपर्छ भन्ने लाग्दैछ। तैपनि तपाई कुरा गर्दै जानोस् सबैकुरा खुलिहाल्छन्।
दैनिकी ?
– दिनभरि कार्यक्रम छ भने बेलुका ९-१०को बीचमा म सुतिहाल्छु। विहान जहिले पनि ५ बजे उठ्छु, अलिकति फिजिकल एक्सरसाइज गर्छु। अस्तिदेखि त झन् नियमित गर्नुपर्ने भएको छ। घाँटीको नशा च्यापिएपछि डाक्टरले पनि नियमित गर्नुपर्छ भनेको छ। ६ बजेतिर पत्रपत्रिका हेरिन्छ।
मुटु ठिकै छ ?
– ठीक छ अहिले ठिकै छ।
कहिलेकाँहि ड्रिंक्स लिनुहुन्छ ?
– अँ। म कहिलेकाँही लिन्छु।
कति लिनुहुन्छ ?
– दुई पेग।
मासिक खर्च कति छ ?
– यहाँ आएपछि अलि बढेको छ। हामी यहाँ ६०-७० जना छौं। सामुहिकरुपमा खर्च भइराखेको छ। खर्च मैले कति भनेर हेर्नुपर्छ। ५०- ६० हजार भन्दा बढी होला। भाडा अलग्गै हो।
राज्यले दिँदैन ?
– हेडक्वाटर बस्ने ठाउँको भाडाचाँहि राज्यले दिने भनेको थियो। अब सहमति भयो भने दिइन्छ होला।
सुरक्षामा केही कमी ?
– त्यस्तो मैले महसुस गरेको छैन।
विदेशीहरूले भेट हुँदा आफ्नो देश घुम्ने निम्तो दिँदैनन् ?
– अहिले अलि बढी युरोपियनहरूले भनिरहेका छन्।आउनुपर्यो, तपाइहरूलाई स्वागत गछर्ौं भनिरहेका छन्। उत्तरले आफर गरेको छैन, दक्षिण कोरियाले पटक-पटक भन्यो। हामीले समय मिलाउन सकेनौं। रसियाबाट निम्तो आयो, जान भनेर सबै तयारी गरिसकेर पनि अन्तरिम संसदको विशेष अधिवेशनको समय परेकाले हामीले भिजिट क्यान्सिल गर्यौं। चाइनाको फर्मल निम्तो आएको छैन, इन्फरमलमा नजाने भन्ने छ।
हिन्दी च्यानल हुर्नहुन्छ?
– यता आएपछि हिन्दी हेर्न छाडेको छु। नेपाली हेर्छु। तीते करेली, जीरे खोर्सानी, यस्ता कार्यक्रमहरू मौका पर्नासाथ हेरिहाल्छु। यसबाट अलिकिति रिल्याक्स पनि हुन्छ।त्यस्ता समाचार हेरिन्छ, बाँकी त समाचार नै हेरिन्छ।
कहिलेकाँही पत्रकारले बढी नै खेदे भन्ने जस्तो पनि लाग्छ?यसका लागि मिडियासम्बन्धी आफ्नो पोलिसीमा चेञ्ज गर्नुपर्छ भन्ने लाग्दैन?
– नेपालमा अलिकति रेडिकल चेन्ज हुनुपर्छ भन्ने मेरो राजनीतिक एजेन्डाका कारणले केही मिडियाहरू पूर्वाग्रही भएका हुन् कि भन्ने मलाई परेकै हो। मैले यो कुरा सार्वजनिक रुपमा पनि भनेको छु। अर्काे कुरा मिडिया अलि अराजक हुन थालेको हो कि भन्ने पनि समाजको सबै क्षेत्रलाई लाग्न थालेको छ।यो वीचमा पत्रकार, सम्पादकरुसित अलि नजिकबाट कुारकानी गरेर यसलाई हल गर्नुपर्छ भन्नेतिर पनि हामी लागेका छौं। यसलेल कमसेकम नमिल्ने कुरा पनि स्पष्ट गर्छ। कमसेकम भ्रम नरहोस् भन्ने हामी चाहन्छौं।
वीरेन्द्र शाहको हत्यापछि खोइ के भो त? राहत दिने भनेको खै त?
– हाम्रो तर्फबाट बालबच्चालाई सहयोग गर्छौ भनेका छौं। त्यो सहयोग चाँडै जान्छ।
हत्यारालाई कारवाही गर्ने कुरा?
– उनीहरूलाई समात्न हामीले पुलिस प्रशासनसित पनि कोअर्डिनेशन गरिराखेका छौं। हाम्रो तर्फबाट पनि प्रयास भइराखेको छ।उनीहरू भफेला परेका छैनन्। अहिले उनीहरू जनतान्त्रिकमा गए भन्ने सुनिँदैछ। मधेशमा त सजिला छ नि, एकातिरबाट जोगिन अर्काेतिर गैदियो। उनीहरू दुईजनै जनतान्त्रिकमा पुगे भन्ने सुन्दैछु।