दिप को संसार

We provide what you want

‘रोगको भण्डार हो, भुँडी’

Posted by dipakt on सितम्बर 20, 2010

भुँडीको भारी

मासु र मिठाई भनेपछि मरिहत्ते गर्नुहुन्छ ? खान थालेपछि पेट नचर्केसम्म उठ्नुहुन्न ? बिहान अबेरसम्म सुत्नुहुन्छ र व्यायाम पनि गर्नुहुन्न ? यस्तो दैनिकीमा अभ्यस्त हुनुहुन्छ भने ठोकुवाका साथ भन्न सकिन्छ, तपाईंको भुँडी बढ्दैछ ।

यदि भातप्रेमी हुनुहुन्छ, आलुका परिकारमा र्‍याल चुहाउनुहुन्छ, पानीको सट्टा कोलडि्रङ्समा रमाउनुहुन्छ, फास्टफुडलाई सजिलो र स्वादिलो मान्नुहुन्छ । यति भएर पनि व्यायामदेखि तर्सनुहुन्छ भने अनुमान लगाउन गाह्रो छैन, तपाईं भुँडे नै हुनुहुन्छ ।

मान्छेको भुँडी कसरी बढ्छ ? प्रश्न खस्न नपाउँदै मोटोपन घटाउन सघाउन खोलिएका हेल्थ क्लबका परामर्शदाताहरूले एक सासमा यति कुरा भनिसिध्याउँछन्। चिकित्सक, योग शिक्षक र फिटनेस शिक्षक पनि यस्तै तर्क गर्छन्। फलानो चीज खाने वा नखाने, यसो गर्ने वा नगर्ने भन्ने सल्लाह पनि दिन्छन्। एक घन्टादेखि दुई घन्टासम्म व्यायाम गर्ने, आठ घन्टा अनिवार्य सुत्ने, पानी प्रसस्त पिउने, भात खानेबित्तिकै पानी नपिउने वा नसुत्ने। यस्ता निर्देशन दिन पनि उनीहरू चुक्दैनन्। अनुभव वा किताबी ज्ञानले नै किन नहोस्, उनीहरूका उपदेश चिकित्साशास्त्र अनुकूलचाहिँ छन्। यस्तै सल्लाहबमोजिम सहरका गल्ली, चोक, चौर र सडकपेटीमा एकाबिहानै भुँडी हल्लाउँदै दौडिनेदेखि व्यायाम केन्द्रमा धाउनेहरूको ताँती पनि देखिन्छ।

मुक्त हुने प्रयासमा

साहित्यकार भैरव अर्यालले आफ्नो व्यंग्य लेखमा भुँडीको वर्गीकरण नै गरििदए। घ्याम्पे भुँडी, डल्ले भुँडी, प्याल्टे भुँडी, घोप्टे भुँडी आदि। भुँडी बढ्नुको कारण पनि दिएका छन् उनले। धेरै खाएका, अघाएका, अर्जीण हुने गरी खान पाउनेहरू आदिको ठूलो भुँडी हुन्छ भन्ने उनको ठट्यौलो जवाफ छ। खाना खाने होइन, देशको बजेट खाने, भन्सारमा बसेर घूस खाने, रुपियाँदेखि डलर खाएर डकार्नेहरू उनको हास्यव्यंग्यका पात्र बनेका छन्।

साहित्यकार अर्यालको संकेतबाट के बुझिन्छ भने तत्कालीन सचेत समाजले भुँडेहरूलाई घुस्याहाको रूपमा बुझ्थ्यो। सँगसँगै बूढापाकाहरूका अनुसार, अर्कोखाले सोचाइ राख्नेले खान पाउने वर्गका रूपमा पनि बुझ्थे भुँडेहरूलाई। तीन दशकअघिसम्मको यस बुझाइमा अहिले भने निकै भिन्नता आएको छ। खान राम्रोसँग नसक्ने वा मिलाएर खान नजान्नेहरू भुँडे हुन्छन् भनेर बुझ्ने परपिाटी कमसेकम सहरमा स्थापित नै भइसकेको छ।

भुँडी लाग्ला भनेर डराएर बसेका, भुँडी लागेका सचेत वा अचेत र भुँडीका कारण आजित बनेका तमाम भुँडेहरू यतिबेला चिन्तामा छन्। सहरका दर्जनौँ क्लबहरूमा देखिने भीडले यही कुराको प्रमाण बोल्छन्। सक्नेहरू क्लब धाउँछन् र नसक्नेहरू कोही सडक-पेटीमा दौडन्छन् भने कोही घरमै बसेर रामदेव पुकार्छन्। लाइफ फिट्नेस बानेश्वरका एरोविक शिक्षक राम पाण्डेका अनुसार, ठूलो भुँडीले व्यक्तित्व बिगार्छ भन्ने कुरा आममानिसले बुझ्न थालेका छन्। भन्छन्, “यसैको प्रभाव हो, फिट्नेस सेन्टरहरूमा भुँडेहरू ओइरनिु।”

अहिले हेल्थ क्लब र फिट्नेस सेन्टरहरूको व्यापार राम्रैसँग फस्टाएको ठोकुवा गर्न सकिन्छ। स्टार होटलहरू स्िवमिङ् पुलमा सीमित छैनन्। उनीहरूले दैनिक व्यायामका सामग्रीले पनि होटलको आम्दानी बढाएका छन्। मासिक एक हजारदेखि सात हजार रुपियाँसम्म खर्चेर बिहान वा बेलुका क्लब पुग्नेको संख्या राजधानीमा मात्र हजारौँ रहेको अड्कल काट्न सकिन्छ। प्रायः सबै क्लबमा पाँच सयभन्दा बढी सदस्य रहेको तिनका सञ्चालकहरू बताउँछन्। जस्तो- चल्तीको महेन्द्र पुलिस क्लबमा १ हजार ५ सय सदस्य छन्। वल्र्ड ट्रेड सेन्टरको सहनाज हेल्थ क्लब, धापासीको नेचर क्लब, पुलचोकको हार्दिक फिटनेस सेन्टर र मित्रपार्कको लाइफ फिजिकल फिटनेस सेन्टरले आफ्नो क्लबको सदस्य संख्या पाँच सयभन्दा बढी रहेको जनाउँछन्। सञ्चालकहरूका अनुसार, पढेलेखेका, आम्दानी राम्रो भएका र स्वास्थ्यप्रति सचेतहरू क्लबमा आउँछन्। क्लबका सञ्चालकहरूको अनुभवले भन्छ, “राजधानी भुँडीमुक्त हुने अभियानमा छ।”

दाबी आ-आफ्नै

“२० वर्षपछि हिन्दुस्तानका हस्िपटल खाली हुनेछन्,” केही वर्षअघि स्वामी रामदेवले गरेको ठोकुवा गरेका थिए। योगको माध्यमले सबैलाई स्वस्थ बनाउने संकल्प बोकेका उनले पेट घटाउने लामै उपाय पनि सुझाएका छन्। उनको भनाइ पत्याउने हो भने योगले एक साताभित्रै मोटोपन घटाउन सुरु गर्छ। उनको सर्वेक्षण अनुसार, संसारका दुई सय करोड मानिस मोटोपनबाट पीडित छन्।

मोटोपन कसरी कम गर्ने भन्ने सम्बन्धमा रामदेवले एउटा ‘भीसीडी’ नै सार्वजनिक गरेका छन्। उनले योगलाई विज्ञानसम्मत भन्दै मोटोपन कम गर्ने ग्यारेन्टी दिएका छन्। मोटोपनको मुख्य कारण शारीरकि श्रमको अभाव ठान्छन् उनी। खानपानमा होसियार रही नियमित दैनिक दुई घन्टा योग गर्ने हो भने मोटोपन आफैँ हट्छ।

“गुलियो र घिउ कम खाऊ। बर्गर, पिज्जा, कोकाकोला, फास्टफुडमा ध्यान नदेऊ। खाना खाएको एक घन्टा पछि मात्र पानी खाऊ। नियमित योग गर।” रामदेवको मूलमन्त्र यही हो। तर, उनले योगको महत्त्व र अभ्यासलाई भने निकै जोड दिएका छन्। उनी खासगरी प्रणायाममा अभ्यस्त हुन आग्रह गर्छन्। प्रणायाममा पनि उनी कपालभाँती, अनुलम विलोम, अग्निसार, भ्रामरी आदि गर्नैपर्ने बताउँछन्।

मोटोपन कम गर्ने भन्दै खुलेका फिटनेस सेन्टर, हेल्थ क्लब र व्यायाम सामग्री बिक्रेताहरू पनि मोटोपन घटाउने ‘ग्यारेन्टी’ गर्न चुक्दैनन्। शरीरले प्राप्त गरेको क्यालोरी खर्च भएन भने मोटोपन बढ्छ भन्ने मान्यतालाई नै यिनीहरूले मूल मन्त्र बनाएका छन्। त्यसैले व्यायाम, हिँडाइ, साइकल कुदाइ र विभिन्न प्रकारका शारीरकि परश्रिमको माध्यमबाट क्यालोरी नाश गर्नुपर्छ भन्नेमा यिनीहरूको मत छ। फिटनेस सेन्टरमा लामो अनुभव सँगालिसकेका प्रशिक्षकद्वय कवीन्द्र कपाली र राम पाण्डे दुवैको एउटै दाबी छ, “एरोबिकले फिटनेस मात्र होइन, स्वस्थ पनि राख्छ।” ‘डाईटीसियन’हरूको मत पनि यस्तै नै छ। चिकित्सकहरू पनि खानपानमा ध्यान दिने र आवश्यक शारीरकि श्रम गर्नेलाई अनावश्यक मोटोपनले नछुने दाबी गर्छन्। अरू त अरू हातका मुद्रामार्फत पनि ज्यान घटाउने विधि छ। मुद्राविज्ञ विमल भट्टराई भन्छन्, “सूर्य मुद्राले मोटोपन कम हुन्छ।” आचार्य रजनीशले पनि मोटोपन घटाउने उपाय बताएका थिए। उनले भनेका थिए, “खाना खानेबित्तिकै तातोपानी खाएको खण्डमा वजन घट्छ।”

क्यालोरीका कुरा

वजन घटाउने कुरा गर्दा विज्ञहरूले खानपानमा ध्यान दिनुपर्ने सल्लाह दिन्छन्। उनीहरूको मतलब हो, क्यालोरी मिलाएर खानुपर्छ। क्यालोरी मिलाउनु भनेको खानामा प्राप्त हुने भिटामिनको हेक्का राख्नु हो। डाइटिसियन सुशीलादेवी शर्माका अनुसार, ४० वर्षमुनिका जवान पुरुषले दैनिक २ हजार ८ सय क्यालोरी प्राप्त गर्नुपर्छ भने यही उमेर समूहका महिलाले २ हजार २ सय क्यालोरी लिए पुग्छ। तर, ४० भन्दामाथि पुगेपछि प्रत्येक १० वर्षमा पाँच प्रतिशतका दरले क्यालोरी घटाउँदै लानुपर्छ भन्न पनि उनी छुटाउँदिनन्। धेरै व्यायाम गर्ने र व्यायाम नै नगर्नेहरूले क्यालोरी कम वा धेरै गर्न सक्छन्। क्यालोरी धेरै भए मोटाउने वा बोसो लाग्ने समस्या हुन्छ भने क्यालोरी अपुग भए कुपोषणले ग्रस्त बनाउन सक्छ।

क्यालोरी कसरी र केबाट लिन सकिन्छ भन्ने सम्बन्धमा एरोविक शिक्षक कवीन्द्र कपालीसँग लामो सूची छ। यसलाई सर्वसाधारणले बुझ्ने भाषामा उनी भन्छन्, “एक ग्राम प्रोटिन र कार्बोहाइड्रेटमा चार/चार क्यालोरी र एक ग्राम चिल्लो पदार्थमा नौ क्यालोरी पाइन्छ।” यही मुताबिक प्रत्येक एक सय ग्राममा पाइने क्यालोरीको सूची कपालीले तयार गरेका छन्। जस्तो- एक सय ग्राम चामलमा ७ दशमलव ५ ग्राम प्रोटिन, ७६ दशमलव ७ ग्राम कार्बोहाइडे्रट र एक ग्राम चिल्लो पदार्थ पाइन्छ। क्यालोरीको गणना गर्दा यही मुताबिक गर्न सकिने उनको राय छ -हेर्नूस्, बक्स)। तर, डाइटिङ् गर्नेले गलत मापन गररिहेको पनि उनी बताउँछन्। जस्तो- एक सय ग्राम चामललाई सीधै चार क्यालोरीले गुणा गरेर कार्बोहाइड्रेट हिसाब गर्ने चलन छ। भन्छन्, “चामलमा प्रोटिन र चिल्लो पदार्थको मात्रा पनि हुन्छ भन्ने कमैले बुझेका छन्।”

घटाउने विधि

गैँडा अर्थात् कलाकार निर्मल शर्माको दैनिकी अचेल फेरएिको छ। तीन महिनादेखि मित्रपार्कस्िथत लाइफ फिजिकल फिटनेस उनको नयाँ गन्तव्य बनेको छ। तीन महिनामा पाँच किलो वजन घटाएर १ सय ४ मा झारेको उनी बताउँछन्। क्लब मात्र धाउने मात्रै होइन, शर्माले शरीर घटाउनै खानपिन र व्यायामको छुट्टै विधि-तालिका नै तयार गरेका छन्। जस्तो- चार छाकमा एक छाक मात्र भात खाने। कुनैबेला दुई प्लेट मःम नखाई चित्त नबुझ्ने उनी यतिबेला प्रायः दही चिउरा, कर्नपmलेक्सलगायतका हलुका खानामा बानी बसाल्दै छन्। कलाक्षेत्रमा शर्माको परचिय नै मोटो शरीर हो। तर पनि उनी शरीर सुकाउने अभियानमा छन्। बिहान हिँड्ने, घरमै उपि|mने बानी उनले विकास गरेका छन्। भन्छन्, “सबैभन्दा ठूलो स्वास्थ्य हो अनि मात्र पैसा।” आफू ५ फिट ११ इन्चको भएकाले ८० देखि ८५ किलो तौल ठिक्क हुने पनि उनले बुझेका छन्।

निर्मल मात्र होइन, सहरमा अहिलेे ‘फिटनेस’प्रति लहर नै आएको छ। र, सबैले सिकाउने गरेको मन्त्र हो, खानपानमा सजगता र उचित व्यायाम। डाइटिसियन सुमित्रा खतिवडाका अनुसार, अहिलेको पुस्ता प्राकृतिक रूपमै आफूलाई स्िलम भएको भन्न रुचाउँछ। भन्छिन्, “धेरै युवकयुवतीले गररिहेको ‘डाइटिङ्’बारे अरूलाई जानकारी दिँदैनन्।”

तर, के व्यायाम र डाइटिङ्ले मात्र घटाउला भुँडी ? जवाफ एउटै छैन। सामान्यतया मोटोपन तीन प्रकारले हुन्छ। पहिलो- खानपान र जीवनशैली, दोस्रो- वंशानुगत र तेस्रो- ‘थाइराइड’। डाक्टर रवीन्द्र पाण्डेका अनुसार, पछिल्ला दुईखाले मोटाइलाई व्यायाम र खानपिनको सचेतताले मात्र घटाउन सकिँदैन। चिकित्सकीय उपचारबाहेकले ज्यान घटाउन सक्ने उपाय खोज्नेहरू लगनशील भएको खण्डमा सफलता मिल्ने पनि विज्ञहरू बताउँछन्। जस्तो डाइटिङ्को प्रश्न पनि त्यति सजिलो छैन। किनभने, डाइटिङ्मा उचाइ, तौल, आनीबानी आदिले कति खाने र के खाने भन्ने कुरा निर्धारण गर्छन्। वजन घटाउने भन्ने कुरा शरीरमा रहेको बोसोसँग सम्बन्धित छ। यसलाई दैनिक उपभोग गरेको क्यालोरी ह्रासले कम गर्छ। योगका आसन, व्यायाम, डाइटिङ् आदिले यही काम गर्ने चिकित्सकहरू बताउँछन्।

‘रोगको भण्डार हो, भुँडी’

डा ललितकुमार मिश्र

चिकित्सकीय आँखाले हेर्दा ठूलो भुँडी हुनु रोगी हुनुको संकेत हो। मोटोपनलाई खासगरी तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ। भुँडी लाग्ने पहिलो कारण खानपान र जीवनशैली नै हो। दोस्रो, वंशानुगत मोटोपन। र तेस्रो, थाइराइड। थाइराइड भनेको मोटाउने रोग हो। यीमध्ये दोस्रो र तेस्रोको उपचार आममानिसको बसमा छैन। थाइराइडको उपचार चिकित्सकले नै गर्नुपर्ने हुन्छ। वंशानुगत मोटाको उपचार खानपान र जीवनशैलीले नियन्त्रण गर्न त सक्छ तर निर्मूल गर्न सक्दैन। तर, पहिलो कारणले हुने मोटोपनलाई चाहिँ हामी निर्मूल गर्न सक्छौँ।

खासगरी खानाबाट प्राप्त शक्ति खर्च नभएर शरीरमा जम्मा हुने हो। शारीरकि परश्रिमको अभावमा यस्तो हुने गर्छ। यसका लागि शरीरलाई चाहिने क्यालोरी मिलाएर खाँदा र त्यसै मुताबिकको व्यायाम गरे पुग्छ। जतिबेला पनि खाइरहने र पचाउन गाह्रो हुने कुरा खाने गर्नाले पनि मोटोपन वा पेट बढ्ने हुन्छ। खानपानमा सचेतता र व्यायाम गर्ने जाँगर यसका लागि प्रमुख सर्त हुन्।

व्यायामका लागि मानिस किन जाँगर देखाउँदैनन् भन्दा विज्ञानले हरेक कुरा सजिलो बनाइदिएको छ, बसीबसी गर्न। हिँड्नुसमेत पर्दैन। तर, अल्छी गरेबापत बढेको बजनले घुँडा र कम्मर दुख्ने, उच्च रक्तचाप हुने, पायल्स हुने, मुटुमा समस्या आउने, घुर्ने समस्या देखिने, स्वाँस्वाँ बढ्ने आदि रोगले सताउँछ भन्ने थाहा भयो भने पक्कै अल्छी भाग्छ होला।

तर, खानपान र व्यायामको प्रश्न त्यति सजिलो छैन। मानिसको उमेर, उचाइ र तौल अनुसार हरेकका लागि बजन घटाउने भिन्न उपाय हुन सक्छन्।

महिलाहरूमा मासिक धर्म बन्द भएपछि पनि मोटोपनले समात्न सक्छ।

‘भुँडी घटाउनै भनेर आउँछन्’

प्रवीण खनिया

हेल्थ क्लब सञ्चालनमा ल्याएको नौ महिनामा नै पाँच सय सदस्य बनाउन सकेका छौँ। नियमित क्लब आउने पनि डेढ सयभन्दा बढी छन्। रमाइलो त के छ भने यीमध्ये ९० प्रतिशतचाहिँ मोटोपन वा पेट घटाउनका लागि भनेर आउँछन्। नियमित रूपमा व्यायाम गर्ने र हामीले भनेबमोजिमको खानपान गर्नेलाई तीन महिना लागेको छ, पाँच किलो तौल घटाउनलाई। तौल घटाउने सबैभन्दा राम्रो गति पनि यही हो।

सदस्य हुन आउनेमध्ये २५ वर्ष उमेरका ४२ जना मात्र छन्। उनीहरू मोटाउने र पेट बढ्ने भयले आएका हुन्। क्लब आउनेमा २६ देखि ३० वर्ष उमेर समूहका धेरै छन्। ३ सय ६ जना छन् यो उमेर समूहमा। ३६ देखि ५० वर्ष उमेर समूहका १ सय ५० जनाजति छन्। महिलाहरू ३० प्रतिशतजति छन्। यी सबैका आ-आफ्नै कारण छन्, क्लब धाउनुमा। सामूहिक कारणचाहिँ मोटोपन हो। त्यसमा पनि पेट घटाउन धेरैजसो आएका छन्।

पेटले हुने समस्या धेरै छन्। आउनेमध्ये धेरैजसो समस्या भइसकेपछि वा हुन थालेपछि आउँछन्। स्वाँस्वाँ बढ्ने, मुख गनाउने, असुहाउँदो देखिने, उच्च रक्तचाप भएकाहरू धेरै आएका छन्। यीमध्ये कतिपय विवाहितहरू पेटका कारण यौन सम्पर्कमा समस्या देखिएपछि पनि आएका छन्। पेट आफँैमा रोग होइन होला। तर, यसले रोग थोपर्न सक्छ भन्नेमा चाहिँ आममानिस सहमत छन्। यस्तो सचेतता कलाकर्मीमा बढी छ। पेसाकर्मीमा अर्थसँग सम्बन्धितहरू बढी आउँछन्। क्लबमा आउन खर्च चाहिने हुनाले कम आम्दानी हुनेहरू आउँदैनन्। प्रायः राजनीतिज्ञहरू भुँडे छन्। तर, तीमध्ये अधिकांश यस सवालमा सचेत देखिँदैनन्।

भुँडीले ल्याउने रोग

स्वाँस्वाँ बढ्ने

घुँडा र कम्मर दुख्ने

हड्डी खिइने

कब्जियत हुने

ग्यास्टिकले समाउने

डिप्रेसन

पायल्स

उच्च रक्तचाप

मुटुको रोग

मधुमेह

एक सय ग्राममा के कति ग्राम ?

खाना प्रोटिन कार्बोहाइड्रेट चिल्लो

चना १७.१ ६०.९ ५.३

चामल ७.५ ७६.७ १

गहुँ १२ ६० १.७

भटमास ४३.२ २०.९ १९.५

काउली २.६ ४ ०.४

आलु १.६ २२.६ ०.१

गाजर ०.९ १०.६ ०.२

रामतोरिया १.९ ६.४ ०.२

तोरीको साग ४ ३.२ ०.६

मुङको दाल २४.५ ५९.९ १.२

आलु १.६ २२.६ ०.१

खसीको मासु १८.५ ० १३.३

लोकल कुखुरा २५.९ ० ०.६

पनिर १८.३ २०.८ १.२

पोकाको दूध २.५ ४.५ ०.१

भैँसीको दूध ४.३ ५ ६.५

Advertisements

Posted in Uncategorized | Leave a Comment »

यस्तो छ पाँच सय डलर पर्ने एनआरएन आईडी

Posted by dipakt on फ़रवरी 17, 2010

दोहोरो नागरिकता माग्दै आएका एनआरएनले विशेष सुविधा पाउने गरी नेपाल सरकारले हिजोदेखि बाँड्न थालेको एनआरएन परिचय पत्र यस्तो देखिन्छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गुपचुप रुपमा सबैभन्दा पहिला आफ्नी छोरीलाई र सार्वजनिक रुपमा एनआरएन अध्यक्ष देवमान हिराचनलाई यो परिचय पत्र बाँडेकी हुन्। परिचय पत्र अंग्रेजी र नेपाली दुवै भाषामा छ र यसमा नागरिकता नम्बर र पासपोर्ट नम्बर पनि उल्लेख छ। यो ‘विदेशमा बस्ने नेपाली नागरिक’ परिचय पत्र हो। नपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेका एनआरएनहरुले पनि यस्तो परिचय पत्र पाउने छन्। उनीहरुको परिचय पत्रमा ‘नेपाली मूलका विदेशी नागरिक’ लेखिएको हुन्छ। यस्तो परिचय पत्र बोक्ने एनआरएनले नेपाल आउन पहिले जस्तै हरेक पटक भिसा लिनु पर्ने छैन। नेपाली नागरिकता त्यागिसकेका अर्थात् विदेशी नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिले यस्तो परिचय पत्र लिन पाँच सय डलर शुल्क तिर्नुपर्ने रहेछ।

सार्क मुलुक बाहेक अरु देशमा दुई वर्ष बसेकाले यस्तो एनआरएन आईडी पाउने छन्। नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको मात्रर हने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्नेछन्।

पढ्न, तालिम लिन गएका, विदेशस्थित नेपाली नियोगमा काम गरिरहेका र सार्क क्षेत्रमा बसोबास गर्दै आएकाले भने परिचयपत्र पाउने छैनन्।

एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

सस्तो पर्छ भन्दै विदेशी नागरिकता लिएर पनि ‘विदेशमा रहेका नेपाली नागरिक’को रुपमा एनआरएन आईडी लिनुभयो र केही गरी तपाईँले विदेशी नागरिकता लिनुभएको पत्ता लाग्यो भने तपाईँको एनआरएन आईडी खोसिनेछ। वा बीचमा तपाईँले विदेशी नागरिकता लिनुभयो भने पनि तपाईँको एनआरएन आईडी खोसिनेछ र यसवापत् पाइने सुविधा पाउनु हुनेछैन। तपाईँले नेपाली मूलका विदेशी नागरिकको अर्कै परिचय पत्र लिनुपर्नेछ।

एनआरएन ऐनमा के छ?
नेपाली मूलको विदेशी नागरिक भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु,आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनुपर्छ।

विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्यदूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तिमा दुई वर्ष बसोबास गरेको नेपाली नागरिक सम्झनुपर्छ।

के के सुविधा पाइन्छ त यो कार्ड भएपछि ?
– नेपाल आउन भिसा लिनुपर्दैन।
-काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी जग्गा किन्न पाउँछन्।
-तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्ममा घरजग्गा किन्न पाउँछन्।
-पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।
-तराईका गाविसमा एक बिगाहा र अन्यत्र दश रोपनीसम्म घरजग्गा किन्न पाउँछन्।
-नेपालमा प्रत्यक्ष लगानी गर्न पाउँछन्।

Posted in Uncategorized | Leave a Comment »

सुखी जीवनका उपाय दिप को संसार

Posted by dipakt on फ़रवरी 16, 2010

मुन पौडेल

baमहात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाईं आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन । शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ तर सबैलाई थाहा छ, तपाईंलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चीज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो । जुन असम्भव छ ।

एउटा कथा सुन्नुभएको छैन ? एउटी सासू र बुहारी सधैँ बाजाबाज गरेर झगडा गर्थे अरे । सासूले एकथोक भनी भने बुहारीले दुईथोक जवाफ दिन्थी अनि झगडाले भयङ्कर रूप लिन्थ्यो । एक दिन बुहारीलाई एउटीले सल्लाह दिइछ- सासूले सराप्न थाल्यो कि तिमी मुखभरि कनिका हालेर चपाउन थाल्नु, झगडै हुँदैन । बुहारीले त्यसै गरेकी त झगडै बन्द भएछ । कनिका मरीमरी चपाउन थालेपछि सासूको सराप पनि सुनिन कम हुँदोरहेछ, मुखमा कनिकाको बुझो भएको कारण बुहारीले जवाफ फर्काउन छोडिछन् । सासू एकहोरो कति चिच्याउनु, जवाफै नआएपछि । तपाईं पनि चुप लाएर बस्नुस्, उचित अनुचित केही नभन्नुस्, अन्यथा बोल्यो कि पोल्यो हुन्छ ।

श्रीमती भनेका भगवतीका रूप हुन् र भगवती कति किसिमका हुन्छन्, तपाईंलाई थाहै होला । नभए दुर्गा सप्तशति पढ्नुस् । यिनीहरूले कुन बेला कुन भगवतीको रूप लिन्छन् भन्नै गाह्रो छ । छिनमै मोहिनी रूपमा भएका यिनीहरू महाकालीको रूपमा परिवर्तित हुन्छन् । यिनीहरूको व्यवहार, चालढाल, कटाक्ष र माया कुन बेला परिवर्तन हुन्छ ? भगवान्ले पनि भन्नै सक्दैनन् । तुरुन्तै लक्ष्मीजस्ता देखिएका यी सरस्वती तुरुन्तै परिवर्तित हुन्छन् र सरस्वतीबाट महाकालीका रूपमा आउन पनि यिनलाई बेर लाग्दैन । त्यसैले यिनलाई चलाउनु, जिस्काउनुभन्दा हो मा हो मिलाउनु जाति तर त्यसो गर्दा पनि सुख पाइँदैन र पो मार्‍यो । सबभन्दा राम्रो जोइटिङ्ग्रे भइदिनु, सबभन्दा राम्रो ।

तपाईंकी प्राण प्यारी पत्नीलाई खुस चल्यो भने एकाबिहानै नुहाइवरी कपालबाट तपतप पानी चुहाउँदै तपाईंको ओछ्यानमै बेड टी पुर्‍याउन बेर लाउँदिनन् तर कुनै दिन तपाईं एकाबिहानै उठ्नु भो र तपाईंलाई चियाको तलतल लाग्यो भने तपाईं के गर्नु्हुन्छ ? बुद्धिमान हुनुहुन्छ भने चुपचाप चियाको प्रतीक्षा गर्नुस् र होइन तपाईंलाई बोल्नैपर्छ र तपाईंले ”के हो आज चियासिया खान पाइँदैन कि क्या हो” भन्नुभयो भने तपाईंको बिहानी बर्बाद । किनकि त्यति सुन्ने बित्तिकै तपाईंकी सुन्तली म्याक्सी घिसार्दै आउँछिन् र चिच्याउँछिन्- “मान्छेलाई बिहान उठेदेखि सास लिन फुर्सद छैन । धारामा पानी नआएर फोहोर भाँडाहरू असरल्ल छन् । एउटा नोकर खोजेर ल्याउनुभन्दा हुत्तिहाराहरू एउटा नोकर खोज्न सक्दैनन् । किन खोज्थे ? एउटी सित्तैकी कमारी छँदैछे नि घरमा । वरको सिन्को पर कोही नसार्ने । छोराछोरी केके न महाभारत गरेको जस्तो अझसम्म पनि सुती नै रहेका छन् । उहाँलाई चाहिँ बसीबसी चिया मात्रै चाहिन्छ” र एक छिनपछि ठ्यास्स एक कप चिया ठस्काउँछिन् । तपाईं त्यो चियाको कप हेरेर मक्ख पर्दै यस्तै हो भनेर चुप लागेर चिया खान थाल्नु भो भने बिहान मात्र बर्बाद हुन्छ, दिन सपि्रन्छ । चुइँक्क पनि बोल्नु भो भने दिनरात पूरै बर्बाद ।

श्रीमती सुमर्न साह्रै गाह्रो हुन्छ । जसले यिनलाई सुमर्छ त्यो पनि पछुताइरहेको हुन्छ, सुमर्न नपाउने पनि पछुताई नै रहेको हुन्छ, खोई कतातिरका पेंडाजस्तो । घररूपी फिल्मकी प्रोड्युसर, डाइरेक्टर सबका सब श्रीमती नै हुन् भनेर पूर्णरूपमा यिनकै निर्देशनमा सारा थोक चल्न दिनु भो भने सुटिङ निर्वाधरूपमा चल्छ, म पनि त फाइनान्सर हुँ भनेर फुर्तिफार्ती लाउन थाल्नु भो भने डाइरेक्टरले सुटिङ प्याकअप गरेर माइत हिँड्दिन बेर हुँदैन । सबभन्दा ठूलो कुरा नबोल्नु, बोल्यो कि पोल्यो । अब एउटा उदाहरण हेर्नुस्, कुनै दिन लोग्नेस्वास्नी कुनै पार्टीमा जान तयार भइरहेको अवस्थामा श्रीमतीले दुई/चारवटा साडी झिकेर “कुन लाउँ ?” भनेर सोधिन् भने नसुन्याजस्तो गरेर चुप लाग्नुमै भलाइ हुन्छ । “जुन राम्रो लाग्छ त्यै लाऊ” वा “ऊ यो चाहिँ लाऊ” जे भन्नुभयो भने पनि तपाईंको कल्याण छैन । “ऊ त्यै लाऊ न त” भनेर कुनै साडीलाई देखाएर भन्नुभो र त्यो तपाईंले किनिदिएको चाहिँ साडी पर्‍यो भने महाभारत परिहाल्छ । “हजुरले किन भन्नु त्यो लाउन । बाह्र वर्षमा जम्मा एउटा साडी किन्द्या छ कत्ति न राम्रो जस्तो ? अनि घरिघरि त्यै लाऊ । मान्छेका स्वास्नीले कस्ता लाएर आउँछन्, लोग्नेले महिनैपिच्छे एकसे एक साडी किनिदिन्छन्, लाउँछन् । आˆनो त भाग्यै यस्तै” भन्दै तपाईंकी श्रीमतीले साडी हुत्याउँदै पार्टीसार्टीलाई भँडखालामा हाल्छिन् । तपाईं भिजेको छुचुन्द्रोजस्तो लुसुक्क परेर त्यहाँबाट भाग्नुबाहेक अर्को उपाय हुँदैन ।

हाम्रो नेपाली समाजमा घरकी, लोग्नेकी, लोग्नेको श्रीसम्पत्तिको मालकिन र चिफ एक्ज्युटिभ को त भने श्रीमती । श्रीमती लोग्नेको टोपीदेखि मोजासम्म र बैङ्कको खातादेखि खल्तीसम्मकी मालकिन । कुन पुरुष हुँ भन्ने पतिमा त्यो ताकत छ कि जसले श्रीमतीलाई ढाँटेर, ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो आˆनो नामको जग्गा, घरलगायत सञ्चयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका हुन्छन् । जुन मै हुँ भन्ने मनुवाले “कमाउने म, त्यसको नाममा केको राख्छु” भनेर फुर्तिफार्ती लाएर हैकमवादी प्रकृति नै देखाउँछ, त्यसको दुःखको दिन सुरु भयो भन्ठाने हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिँदैन सकिँदैन, उल्टो जिन्दगीभर कन्याइरहनुपर्छ । पश्चिमी मुलुकमा एउटा मन परेन, पारपाचुके गर्‍यो र अर्की ल्यायो । त्योसँग पनि चित्त बुझेन भने त्यसलाई पनि मिल्काइदियो र आनन्दले बस्यो । यहाँ त एकपटक बिहे गरेपछि श्रीमती भन्ने चीज लिसो टाँसेको जस्तो टाँस्सिरहन्छ र जीवनभर छोड्दैन । लोग्नेले जिन्दगीभर लिसोको राम्रो व्यवस्थापन गरिहरनुपर्छ ।

तपाईं करोडपति हुनुहोस् वा ज्यामी । पैसाले तपाईं कदापि सुखी हुन सक्नुहुन्न । तपाईंकी घरकी रानी यदि प्रसन्न छिन, सन्तुष्ट छिन् भने एक थाल ढिँडो खान पाए पनि तपाईं सुखी रहन सक्नुहुन्छ तर तपाईंकी प्राण प्यारीको चित्त बुझेको छैन वा तपाईंले बुझाउन सक्नु भएको छैन भने तपाईंको घर नर्कमा परिणत हुन पुग्छ । पैसाको खोलो बगाइदिनु भयो भने पनि शान्ति प्राप्त हुँदैन । त्यसैले सुखी रहन एउटै यन्त्र छ । सम्भव छ भने यो स्वास्नीरूपी लुतो नै नभिर्नु । यो सम्भवै छैन । लुतो भिरी नै सक्नुभएको छ भने सधैँ आरतीको थाल लिएर कुनै देउता अगाडि घन्टी बजाउनु साटो श्रीमतीलाई आरती देखाएर घन्टी बजाउनुस् र सधैँ संस्कृतको श्लोक ‘त्वमेब माता च….’ भट्याउने गर्नुस्, सुखी रहनुहुन्छ । श्रीमतीले जे भन्छिन्- ‘सदर, जे गर्छिन्- सदर, जे ख्वाउँछिन-सदर, जे सुनाउँछिन् सदर, जे गाउँछिन् सदर गर्नुभयो र सँगसँगै खैंजडी बजाउन थाल्नु भो सधैँ सुखी रहनुहुन्छ । सुखी रहने अन्य कुनै उपाय छैन ।

Posted in Uncategorized | Leave a Comment »

महानायक

Posted by dipakt on फ़रवरी 8, 2010

‘एउटा मोडमा पुगेपछि मानिस बितेका कुरा सम्झन्छ,’ राजेश हमालले भने, ‘वर्तमान बितेका कुराको प्रडक्ट हो।’

त्यही वर्तमानमा हामी काठमाडौंको जोरपाटीमा छौं, एउटा दुईतले घरको छतमा। जाडोको घाम मलिन हुँदै गएको छ। बेलाबेला राजेशको अनुहार पनि मलिन हुन्छ। उनी दिनभर दुलाहाको भेषमा छन्, चलचित्रका लागि। खरानी रंगको कोट-पाइन्टमा चिटिक्क परेका छन् तर अनुहारमा थकान देखिन्छ, जुन मेकअपले छोप्न सकेको छैन। अनुहारको त्वचा बिस्तारै माकुराको जालझैं झोल्लिदै गएजस्तो लाग्छ। कन्चटका रौं फुलिसकेका छन्।

पहिलो चलचित्र ‘युगदेखि युगसम्म’मा ‘ब्याचलर’ युवकको भूमिकाबाट ‘एउटा मान्छेको माया’को एनआरएन बिजनेस म्यानको भूमिकासम्म आइपुग्दा राजेशको नाममा दुई सय ५० भन्दा बढी चलचित्र छन्। यीमध्ये आधाको पनि नाम सम्भि्कन उनलाई गाह्रो पर्छ।

बन्दै गरेको फिल्म स्टुडियोमा दुलाहाको अभिनय गरेपछि, मिनरल वाटरका केही घुट्का पिएर राजेश जब छतमा उक्लिए, वरिपरिका छतछतबाट उनलाई नियाल्न खोज्नेको भीड बढ्यो।

‘ओई, लादेथ हमाल।’

पल्लो घरको छतबाट आवाज आयो। राजेशले त्यतातिर हेरे। आमाको काखबाट एउटा बालक उनलाई हात हल्लाइरहेको थियो। खिस्स हास्दै राजेशले पनि हात हल्लाए। घरको तलतिरबाट पनि बच्चाहरू कराएको आवाज आयो। तलतिर स्कुले बच्चाहरू मुक्कामुक्की गर्दैथे। एउटा भन्थ्यो, ‘राजेश हमाल नै हो।’ अर्को भन्थ्यो, ‘होइन।’
राजेशले देखे कि देखेनन्! खुइय˜˜˜ सुस्केरा हाल्दै प्लास्टिकको कुर्सीमा बसे।

दैनिक १९ घन्टासम्म उफ्रदै, कराउँदै, रुँदै र गर्जंर्दै राजेशले नेपाली चलचित्रमा बीस वर्ष बिताएका छन्। राजेशको रवाफ उस्तै छ, र छ माग पनि। नयाँ निर्देशक हुन् या पुराना, तिनलाई ‘राजेश हमाल’ नै चाहिन्छ – एउटा गीतमा होस् कि एउटा फाइटमा, एकदुई दृश्यमा होस् कि पूरै चलचित्रमा। या त, केवल उनको एक गर्जन, ‘हे˜˜˜’ भएपनि पुग्छ।

अहिले पनि राजेश एकैसमय तीन चलचित्रमा व्यस्त छन्। रानीबारीमा उनी उसु गुरुको भूमिका गर्छन् भने चितवन पुगेर ‘किसान’को। जोरपाटीमा एनआरएनको। राति अर्को फिल्मको डबिङ छ।

‘म हरेक वर्ष १२-१३ चलचित्र खेल्छु,’ राजेश भन्छन्, ‘हेर्नलाई वास्तविकता पस्किएका फिल्म हेर्छु। खेल्दा एकदमै सपना पस्किएका फिल्म खेल्छु।’

अहिले राजेशलाई फिल्मको संक्षिप्त कथा सुनाए पुग्छ। उनी स्त्रि्कप्ट पढ्ने लठारो गर्दैनन्। कथा जे होस्, राजेशले गर्नुपर्ने अभिनय उस्तै त हो नि!

चलचित्रको यत्तिको व्यस्ततामा पनि राजेश म्युजिक भिडियो खेल्छन्, ब्रान्ड एम्बेसडर बन्छन्, क्विज चलाउँछन्। कहिलेकाहीँ बिहानको खाना दिउँसो ४ बजेतिर खान्छन्, त्यो पनि घरमै। राजेशको यत्ति धेरै व्यस्तताको फल हो, राजेश जता जान्छन्, त्यतै भीड बन्छ। राजेश आउनु हुरी आउनुजस्तो भइसकेको छ।

एकपल्ट नारायणघाटमा एउटा चलचित्रको सुटिङ हुँदाहुँदै अधिकांश कलाकारका आँखा पाकेछ। सुटिङ रोकियो। बल्लतल्ल तीनचार दिनमा आँखा ठिक भएपछि भोलिपल्ट देखि सुटिङ सुरु हुने घोषणा भो। केही कलाकार साँझपख नारायणी नदीको किनारमा ताजा हावा खान निस्किए। एक्कासी तिनले देखे, पुलमा त थामिनसक्नुको जुलुस छ। ‘लौ जुलुस आयो। अब तनाव हुन्छ। भोलि सुटिङ गर्न सकिँदैन कि क्या हो’ भन्दै अत्तालिएर एकदुई जना कुरा बुझ्न पुलतिर दगुरे।

त्यहाँ पुग्दा उनीहरूले देखे – जुलुसको अघिअघि हिँडिरहेका थिए, राजेश हमाल।

राजेशले के मोहनी लगाए, जुन कहिल्यै टुट्दैन – कसैलाई थाहा छैन। राजेश आफैलाई पनि थाहा छैन, दर्शक किन उनलाई यत्ति धेरै माया गर्छन्। उनको एक झलक हेर्न मरिहत्ते गर्छन्।

दर्शकको यत्ति धेरै प्रेम देखेर राजेश सुनाउँछन्, ‘तिमी मलाई जति प्रेम गर्छौ, म त्यसको लायक छैन। र, जति घृणा गर्छौ, त्यति घृणित पनि छैन।’

राजेशलाई घरमा पुर्‍याइदिन हिँडेको फिल्म सुटिङको ब्यानर टाँगिएको गाडी बौद्ध पुगेपछि जाममा पर्‍यो। त्यही जामको मौका पारेर एकजना भरिया दगुर्दै गाडीको सिसामा अनुहार जोत्न आइपुगे। बलगरी भित्र हेर्न खोज्दा सिसामा टाँसिएर उनको नाक थेप्चियो। उनले आँखा नचाउँदै राजेशलाई हेरिरहे। गाडी गुड्यो, ती भरिया हात झट्कार्दै खुसीले दगुरे।

यसरी कसैको खुसीको ‘कारण’ बन्न स्वयं राजेशले भने कैयौं खुसी गुमाउनुपर्‍यो। चलचित्र क्षेत्रमा प्रवेश गर्नेबित्तिकै उनको पहिलो खुसी गुम्यो। उनले पहिलोपल्ट अभिनयका लागि मौका पाएको चलचित्र ‘भाग्यरेखा’ तीनचार दिन सुटिङ गरेपछि छाड्नुपर्‍यो।

राजेश भन्छन्, ‘त्यो बेला सबै मिलेर मलाई फिल्मबाट निकालेका हुन्।’

०४३ सालको कुनै दिन। राजेशका बा चुडाबहादुर अखबार पढिरहेका थिए। राजेशलाई केही भन्नु थियो, त्यसैले बाछेउ पुगे।
‘म मोडलिङ गर्न चाहन्छु,’ राजेशले भने, ‘भोलि पत्रिकाको मान्छेसित तपाईंलाई भेटाउँछु।’
बा केही बोलेनन्।
राजेशलाई इन्डियन पत्रिका ‘फ्यासनेट’को आवरणका लागि अफर आएको थियो। उनी बाको सहमति चाहन्थे। भोलिपल्ट पत्रिकाका तर्फबाट अमिरराज पाल कुरा गर्न आए।
‘राजेश मोडलिङका लागि ठिक छ,’ पालले सुनाए।

‘खोई,’ बाले भने, ‘हाम्रो पुर्खामा कसैले नगरेको काम गर्न ला’छ।’

स्विकृति हो कि होइन, राजेशले थाहा पाएनन्। जे होस्, पत्रिकाको आवरणमा कमिज र जिन्समा सजिएका राजेशको फोटो छापियो। अनि पो, किशोरकालमा रस्सामा हेरेका युद्ध चलचित्रको प्रभावले उनलाई छोप्दै लग्यो। ‘एकदिन म फिल्ममा खेल्छु’ भन्ने राजेशको सपना हरियो हँुदै गयो।

पन्जाब युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा एमए गरेपछि राजेशले आफ्नो बाटो रोज्न पाउने भए। राजेश बाका प्रिय थिए। हुर्किसक्दा पनि स्नेहको कमी भएन। मानसिक रूपमा मात्र नभएर शारीरिक रूपमा पनि बा प्रेम देखाउँथे। बाको यस्तो प्रेम पाएर राजेश पनि हुरुक्कै थिए।

०४५ साल। राजेश बासँगै नेपाल फर्किए। काठमाडौंमा इन्डियन एम्बेसीले आयोजना गरेको फेयरवेल प्रोग्राममा फेसन सो हुने भो। अठारबीस जना महिलासँगै राजेश र्‍याम्पमा हिँडे। त्यही र्‍याम्पमा राजेशलाई देखेर मामा दीपक रायमाझीले चलचित्र ‘भाग्यरेखा’मा अफर गरे।

बाले मान्ने कुरा भएन, राजेशले आफ्नो निर्णय लिए।

त्यसताका अहिलेजस्तो नेपाली सिनेमा बन्दैनथे, व्यावसायिकता पनि थिएन। त्यसैले छोरो इन्जिनियर बनोस्, ठान्ने बा २४ वर्षे छोराको निर्णयले निरास भए।

भाग्यरेखाको छायांकन सुरु भो। नायिका थिइन्, कृष्टि मैनाली। पहिलो दिन राजेश कसैसँग बोलेनन्। चलचित्रक्षेत्रमा राजेश ‘एलियन’जस्तै थिए। दोस्रो दिन उनलाई लाग्यो, कृष्टिसँग मेरो केमेस्ट्री मिल्छ। तेस्रो दिनदेखि मित्रता सुरु भो, व्यावसायिक। राजेश र कृष्टि एकान्तमा बसेर संवादको रिहर्सल गर्थे।

‘पहिला कसैसँग बोल्दैनथ्यो। अहिले हिरोइनको नजिक भा’छ,’ सुटिङमा हल्ला चल्दै गयो। अनि त राजेशका आँखामा रिफ्लेक्टरको कडा प्रकास फ्याँक्न थालियो। जसले गर्दा सधैं आँसु बग्न थाले।

‘तिम्रो आँखाबाट धेरै आँसु आयो,’ राजेशलाई भनियो, ‘फिल्ममा सुहाएन।’

अचानक यस्तो प्रतिक्रिया पाएर राजेश छक्क परे। ‘ठिक छ… यो फिल्म मेरो भागमा छैन। उमेर छ, जोस छ, अर्को पाइहालूँला।’ राजेशले यसरी चित्त बुझाए। एकछिन पछि राजेशले अर्को कुरा थाहा पाए – उनीसँगै नायिका कृष्टि पनि निकालिँदैछन्।

‘मेरो त पहिलो फिल्म हो। मलाई असर पर्दैन,’ राजेशले आग्रह गरे, ‘कृष्टि धेरै दुख्ख गरेर यहाँसम्म आइपुगेकी हुन्। तिनलाई ननिकाल।’

आखिर राजेशको कुरा कसैले सुनेन। उनी इन्डिया गए। दुईअढाई वर्ष उतै बसे। संयोगबस, ‘भाग्यरेखा’कै टिमले नयाँ चलचित्र बनाउने भएछ – युगदेखि युगसम्म। चलचित्रका तर्फबाट काशी श्रेष्ठ र छवि ओझाले राजेशलाई हिरोका लागि आग्रह गरे। निर्देशक रैछन्, उही दिपक रायमाझी। नायिका उही कृष्टि।

राजेशले ‘हुन्छ’ भने।

बहुदल आएको तेस्रो दिन सुटिङ सुरु भो। धेरै पछि, बाले थाहा पाए – छोरो त हिरो पो भइसकेछ! बाबुछोराको संवाद बिस्तारै छोटो-छोटो हुँदै गयो। उता चलचित्रको छायांकन सकियो, यता बाबुछोराको बोलचाल बन्द।

आठ महिना बित्यो।

एकदिन एकजनाले राजेशलाई सुनाए, ‘लगनखेलमा तपाईंको ठूलो ‘कट्आउट’ पोस्टर टाँगेको छ।’

राजेश हतारिँदै हेर्न गए। आफ्नो ‘ठूलो’ पोस्टर देखेर राजेश अचम्ममा परे। त्यही पोस्टर देखेर कैयौं यात्रु पनि टक्क अडिन्थे। ‘हेर्दा मिथुनजस्तो छ… नयाँ खत्रा हिरो आएजस्तो छ।’ यस्तो चर्चा सुरु भो।

राजेशका केही स्वदेशी-विदेशी मित्रहरूले पोस्टर देखेछन्। तिनले भने, ‘फिल्म राम्रो बनेजस्तो छ… हामी हेर्छौं।’

तर, घरमा भने त्यति उत्साह थिएन। बाआमाले कुनै वास्ता गरेनन्।

प्रतिक्षा सकियो। न्युरोडको रन्जना हलमा चलचित्रको प्रिमियर हुने भो। राजेश एकदुई साथीसँग गए। हलभित्र सबै बत्ती निभे। कास्टिङ सुरु भो। नयाँ प्रस्तुति – राजेश। राजेश हिरोइन जिस्काउने खलपात्रहरूलाई मुक्का हान्न हुडविहीन जिपबाट उफ्रिदै आए।
ताली र सिटी बज्यो।
तर, राजेश भने अँध्यारो कोठामा चुपचाप बसिरहे। किनभने, उनको सपनाको पहिलो खुट्किलो हेर्न घरबाट कोही आएनन्।

‘म यसरी नै एडजस्ट हुनुपर्छ,’ राजेशले त्यही अँध्यारो कोठामा सोचे, ‘सुख्खमा म एक्लै हास्नुपर्छ। दुख्खमा म एक्लै रुनुपर्छ।’

चलचित्र बेस्मारी चल्यो। ‘दुई दिनको जीवन मस्तीमा बिताऊँ’ भन्दै नाच्ने, झलक्क हेर्दा मिथुनजस्तै लाग्ने राजेश धेरैका प्रिय नायक भइसकेका थिए। केही समयको विश्रामपछि, उनलाई अर्को चलचित्रको प्रस्ताव आयो। निर्देशक प्रकाश थापाको ‘अधिकार’। त्यसपछि, ‘कसम।’

छोरासँग ‘कट्टी’ गरेका बा राजदुत भएर पाकिस्तान गए। राजेश भने नेपालका डाँडाभीरतिर। प्रजातन्त्र आएकाले पनि होला धेरै चलचित्र बन्न थाले। बिस्तारै राजेश व्यस्त हुँदै गए।

‘कलाकार भएर जीविकोपार्जन गर्न गाह्रो हुन्छ भनेर नै बा रिसाउनुभएको हो। एकदिन उहाँले मेरो रुचिलाई सपोर्ट गर्नुहुनेछ,’ राजेशले यस्तो सोच्न थाले।

एकदिन सुटिङ थिएन। बिहान उठ्नेबित्तिकै किन-किन राजेशलाई पशुपति जाऊँ-जाऊँ लाग्न थाल्यो। उनले एकजना साथीलाई फोन गरे, ‘आज पशुपति जाऊँजस्तो लागेको छ, जाने हो?’

साथी पनि जाने भए। पशुपतिलाई एकफन्का लगाएर फर्किंदा गौशालाचोक पुगेपछि, राजेशले थाहा पाए – पाकिस्तानी राष्ट्रपतिलाई भेटेर फर्किंदा गाडीमै बालाई हर्ट अट्याक भएछ।

राजेशले आफ्नो परिवारमा यस्ता घटना भोगेका थिएनन्। पहिलोपल्ट भोगे, त्यो पनि बाको। जोसँग बोलचाल पनि थिएन। राजेशलाई त्यो जीवनको पहिलो ‘सक’ थियो। राजेश सफल भएर जसलाई देखाउन चाहन्थे अब उनी थिएनन्।

बाको झझल्कोबाट मुक्त हुन राजेश झन्् व्यस्त भए। उनले आफूलाई त सम्हाले तर आमाले सकिनन्।

‘गोपीकृष्ण’ फिल्मको सुटिङ भारतमा थियो। फर्कंदा भैरहवा भएर आउनुपर्थ्यो। भैरहवा बोर्डरमा राजेशले देखे – फूलमाला लिएर उभिएका नेपालीहरूको ठूलो जमात।

ती त राजेशको स्वागत गर्न उभिएका रैछन्। तिनले राजेशलाई काँधमा बोके। नारा लगाए। ‘मलाई दर्शकले यत्ति धेरै माया गर्छन्’ भनेर राजेशले त्यही दिन थाहा पाए। उनको ‘हौसला बुलन्द’ भो।

उनले त्यही दिन निर्णय गरे, ‘म अब नेपाली फिल्मलाइन छाडेर कहीँ जान्नँ।’

राजेशको व्यस्तताले ‘हद’ नाघ्यो। एक्लोपनले आमालाई झन् न्याक्न थाल्यो। बा नभएपछि आमाको एउटा सर्कल स्वात्तै घट्यो। बिस्तारै आमा ‘डिप्रेसन’मा गइन्।

‘देउता’को प्रिमियर थियो, रसियन कल्चर सेन्टरमा। तत्कालीन भारतीय र पाकिस्तानी राजदुत पनि आउने भए। आमा यस्तो ‘कुटनीतिक माहोल’मा सामेल नभएको धेरै भइसकेको थियो। त्यसैले राजेशले आमालाई लगे।

चलचित्र राम्रो भएकोमा धेरैले प्रशंसा गरे तर राजेशलाई त आमाको कुरा सुन्नु थियो। किनकि, आमाले पहिलोपल्ट उनको फिल्म हेरेकी थिइन्।

‘राम्रो गरेछौ,’ प्रसन्न मुद्रामा आमाले भनिन्।

त्यसपछि राजेशको आत्मबल झन् बढ्यो। उनले सोचे – म जे गर्दैछु, राम्रै गर्दैछु।

बा गएपछि राजेशलाई लाग्थ्यो, आमा त छन् नि! आमालाई पनि राजेशकै चिन्ता थियो। ‘रातदिन एक गरेर यति धेरै काम नगर,’ आमा भनिरहन्थिन्। तर, ०५९ सालको एकदिन आमा पनि गइन्।

राजेश एक्लो भए।

‘आमा त चंगाको लट्टाई हुनुहुन्थ्यो,’ राजेशलाई लाग्यो, ‘अब मेरो जीवन लट्टाईबिनाको चंगा हुन्छ।’

तैपनि राजेश बाको मृत्युमाझैं ‘सक’ भएनन्। किनकि राजेशलाई थाहा थियो – आमाले आफ्नो जीवन भार मानिरहेकी थिइन्।
आमा गएपछि राजेशलाई यस्तो लाग्यो – पिजडामा कुजिँएको पन्छीले मुक्ति पाएजस्तो।

अहिले राजेश गैह्रीधाराको एकतले घरमा बस्छन्। खरानीरंगको घरको आँगनमा केही फूल छन्। एकान्त पनि छ। राजेश कोलम्बियन कफीको चुस्की लिएपछि मुस्कुराउँदै भन्छन्, ‘म एकान्तमा बोर हुँदिनँ।’ हरेकपल्ट खाना खाइसकेपछि, एक कप कफी पिउने बानी लागेका राजेशको जीवनमा ‘फेबरेट’ भन्नु केही पनि छैन।

‘फेबरेट बनाउनु भनेको आफूलाई बाँध्नु हो,’ उनी फेरि मुस्कुराउँछन्।

उनका रुचि पनि धेरै छैनन्। कहिलेकाहीँ ‘झट्का’ पर्‍यो भने कविता लेख्छन्। अरू कविजस्तो लेखेको लेख्यै गर्न सक्दैनन् रे!

‘कविता नै लेखाउने खाले ‘झट्का’ कति पर्छन्?’ मैले सोधेँ।

‘म कामना गर्छु,’ उनले हात जोडे, ‘यस्ता झट्का धेरै नपरून्।’

राजेशले अंग्रेजी साहित्य पढेकै कारण पनि उनलाई लेखनसम्बन्धी प्रश्न गर्ने मेरो हक छ। धेरैले उनलाई बौद्धिक भन्छन्। एमए पास गर्दैमा ‘बौद्धिक’ भइन्छ कि भइँदैन? राजेश स्वयंलाई बौद्धिकता भनेको के लाग्छ?

‘म आफूले आफूलाई कसरी नापूँ?’ उनले एकछिन सोचे, ‘बौद्धिकता भनेको अतृप्ति हो। अल्लारे हुँदा लाग्थ्यो, सबै कुरा जानिसकेँ। अहिले जति बुझ्दै गयो उति आफूमा अज्ञानता पाउँदैछु।’
यस्तै उतारचढावलाई कुनै दिन उनी अटोबायोग्राफीमा लेख्नेछन्। तैपनि राजेशलाई लाग्छ, जीवनमा कैयौं अध्याय थपिन बाँकी छन्।

उनले भने, ‘केही अगाडि हेर्ने र केही पछाडि थप्ने बिन्दुमा छु।’

अटोबायोग्राफीकै शैलीमा राजेशको जीवनलाई हेर्ने हो भने सुरुवातका अध्यायमा उनका धेरै ‘मिस्टेक’ देखिनेछन्।

‘अरूलाई हानी पुग्ने मिस्टेक हैन, आफैलाई हानी पुग्ने मिस्टेक धेर छन्,’ राजेश थप्छन्, ‘परिवारलाई हानी पुग्ने पनि मिस्टेक छन्। जसले मलाई जीवनकालभरि घोचिरहनेछ।’

यदि तीसको दसकको ‘राजेश हमाल’लाई अहिलेका राजेश हमालले फर्किएर हेर्ने हो भने नचिन्न सक्छन्। राजेशलाई पनि लाग्छ, ‘त्यसबेलाको राजेश हमाल अहिले मेरा लागि स्टे्रन्जरजस्तो छ।’

जति संगत गरेपनि राजेशलाई बुझेँ भन्ने कोही ‘माइकेलाल’ छैन। किनभने, स्वयं राजेशले पनि आफूलाई बुझेका छैनन्।

‘म हरदम आफूलाई बुझ्न खोज्छु,’ राजेश पश्चिमतिर हेर्दै टोलाउँछन्, ‘आफैले आफैलाई बुझ्न एकदमै गाह्रो हुन्छ।’

तर, राजेशले यत्ति त बुझेका छन्, ‘म सन्त होइन।’

कुनै जमानामा राजेश ‘मस्त मौला’ नै थिए। अराजक पनि। उनी सुन्थे – जीवन अनुशासित बनाउन धेरै चिज त्याग्नुपर्छ।

‘जीवनमा प्राप्त भएका कुरा उपयोग गर्नुपर्छ,’ राजेश ठान्थे, ‘तर, त्यसको आदी हुनुहुँदैन।’
अहिले राजेशलाई उमेर र अनुभवले धेरै कुरा सिकाएका छन्। उनी भन्छन्, ‘अनुभव नगरेको कुरा त्याग्नुलाई ‘त्याग’ भन्न मिल्दैन। त्यसलाई अनुभव गर्ने तिर्खा कुनै पनि क्षण जाग्न सक्छ।’

राजेशले अभिनय गरेका अधिकांश ‘लभस्टोरी’को अन्त्य सुखद हुँदैन। आखिर फिल्मलाई पनि जीवनको ‘रिफ्लेक्सन’ मान्ने होे भने राजेशका कैयौं प्रेमकथा त्यस्तै लाग्न सक्छन्। के सफल नायक असफल प्रेमी हुन्?

‘प्रेमको अनुभव भरपुर छ ममा,’ खिस्स हाँसे, ‘त्यै भएर होला… त्यति तिर्खा छैन।’

यदि प्रेमको मामलामा राजेश स्वयंलाई आफ्नो मूल्यांकन गर्न लगाउने हो भने उनले देखेको प्रेमी राजेश हमाल यस्तो हुनेछ – अर्कोबाट भरपुर प्रेमको अपेक्षा गर्ने तर आफूले दिन कन्जुसी गर्ने व्यक्ति।
‘मैले अर्कोलाई जति प्रेम महसुस गराउनुपर्थ्यो, त्यसमा कमीकमजोरी भयो होला।’ राजेशको गम्भीर मुद्रा, ‘त्यो मामलामा म सेल्पि्कस पनि भएँ हुँला।’

अनि, राजेश आफ्नै शैलीमा दुवै आँखीभौं माथितिर धकेल्दै हाँसे, ‘त्यै भएर होला… मलाई दुईचार युवतीले ‘पत्थर दिल’ पनि भनेका छन्।’

आफ्नो व्यक्तिगत समय ‘चलचित्रवाला’सँग बिताउँदैनन्, उनी। आफ्नो खुसी आफैसँग ‘सेलिब्रेट’ गर्न सिकेका छन् राजेशले। पीडामा एक्लै रुन त कसले सिकाउनुपर्छ र?

यदि बिहे भइसकेको हुन्थ्यो भने यतिबेला राजेश छोराछोरीको करिअरको चिन्ता गर्ने भइसक्थे। एक्लो भएर नै होला, राजेश विभिन्न तरिकाले जीवन बुझ्ने तयारीमा छन्। पहिलेपहिले सडक बालकहरू लिएर घुम्थे, सँगै खान्थे। तर, ‘कालबेला’ परिवर्तन भएकाले धेरै भयो, राजेश त्यसरी बाहिर निस्केका छैनन्।

बरु एकान्तमा राजेश आफ्नै आत्माका प्रश्नहरूको उत्तरको खोजीमा हुन्छन् :
म को हुँ?
म किन छु?
म किन आएँ?
म कहाँ जान्छु?
जानु नै छ भने किन आएँ?

यसरी राजेश सामान्य मानिस भएर बाँच्न खोज्छन् तर ‘सुपरस्टार’ले उनलाई छोप्छ। कहिलेकाहीँ आफन्तकोमा जाँदा पनि ‘आफन्तका आफन्त’ले फोटो खिच्ने रुचि देखाउँछन् र उनी सामान्य मानिसबाट ‘स्टार’ भइहाल्छन्।

‘सुरुमा म कसरी चिनियूँ भन्ने मनसाय हुन्छ रे,’ राजेशले कतै सुनेका कुरा सुनाए, ‘पछि त कसैले नचिनोस् भनेर अनुहार छोप्दै भाग्नुपर्ने स्थिति आउँछ रे।’

यो मोडमा आइपुग्दा राजेश हमालभित्र तीन मानिस छन्। पहिलो- सुपरस्टार। दोस्रो- आफ्नो सफलता आफ्ना पितालाई देखाउन नसकेको छोरो। तेस्रो- आध्यात्मिक हुँदै गएको अविवाहित पुरुष।

तर, यी तीन मानिस राजेश हमालसित एकैसाथ कहिल्यै हुँदैनन्। त्यसैले राजेश भन्छन्, ‘मेरो जीवन उपन्यास नभएर कथासंग्रहजस्तो छ।’

Posted in Uncategorized | Leave a Comment »

नौ वर्षीया बालिकाले बच्चा जन्माइन्

Posted by dipakt on फ़रवरी 4, 2010

बेइजिङ, माघ २० (द टेलिग्राफ)- चीनमा एक ९ वर्षीय स्कूले छात्राले ६ पाउण्डको बच्चा जन्माएकी छिन्। शल्यक्रिया गरेर शिशु निकालिएको उनी विश्वकै सबैभन्दा कम उमेरकी आमामध्ये एक हुन्।

उत्तर पूर्वी प्रान्त जिलिनको चाङचुनस्थित अस्पतालमा ती बालिकाले साढे ८ महिनाको गर्भधारणपछि जनवरी २७ मा बच्चा जन्माएको स्थानीय समाचारपत्रहरूले जनाएका छन्।

सिटी न्यूज समाचारपत्रका अनुसार ती बालिका र उनको बच्चाको अवस्थामा राम्रो छ।

तर उनको अभिभावकले त्यसबारे प्रहरीमा उजुरी दिएका छन्। चीनको कानुनमा १४ वर्षभन्दा कम उमेरका बालबालिकासँगको यौन सम्बन्धलाई बलात्कार मानिन्छ।

अस्पतालको एक नर्सले सो बालिकाका परिवार सोङयुनको भएको बताएकी छिन्। उनले ती केटी ‘वयस्क’ जस्तो देखिने भए पनि उनी कसरी गर्भवती भइन भन्ने नखुलेको बताइन्। अस्पतालले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

चीनले बालबालिकालाई कम उमेरमा यौन गतिविधिमा संलग्न हुनबाट जोगाउन देशव्यापी अभियान संचालन गरेको छ र इन्टरनेटमा यौनसम्बन्धी विषयवस्तुमाथि प्रतिबन्ध लगाएको छ। माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच यौनसम्पर्क भएको भेटे विद्यालयबाट निलम्बन वा निस्कासन गर्ने गरेको छ।

आलोचकहरुले किशोरी अवस्थामै गर्भपतन गर्नेको संख्या तीब्ररूपमा बढे पनि उपयुक्त यौन शिक्षाको आवश्यकतामा जोड दिएका छन्।

सांघाईको एउटा अस्पतालको तथ्यांकले गर्भपतन गराउनेमध्ये एक तिहाइ स्कुले विद्यार्थी रहेको देखाएको छ।

गत वर्ष, चोङक्विङ सहरस्थित एउटा क्लिनिकले विद्यार्थी परिचय पत्र भएकालाई गर्भपतन गर्न आधा छुट दिने विज्ञापन जारी गरेपछि त्यसको आलोचना भएको थियो।

पेरुकी एक ५ वर्षे बालिकाले सन् १९३९ मा बच्चा जन्माएकी थिइन्।

Posted in Uncategorized | Leave a Comment »

मृत्युदण्ड पाएका नेपालीको जेलमै मृत्यु

Posted by dipakt on फ़रवरी 4, 2010

काठमाडौं । लागूऔषध ओसारपसारको अभियोगमा दुई महिनाअघि मलेसियाकाको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीमध्ये साजन गुरुङ्को जेलभित्रै मृत्यु भएको छ । नुवाकोट किम्ताङ ९ का साजन गुरुङको माघ ६ गते मृत्यु भएको उनका दाजु रामबहादुर गुरुङले जानकारी दिनुभयो । मृतक गुरुङसँगै नुवाकोटकै हरिबहादुर घलेलाई अदालतले नोभेम्बर २६ मा मृत्युदण्डको सजाय सुनाएको छ ।

गुरुङको स्वास्थ्य बिगि्रएपछि माघ ५ गते उपचारका लागि काजाङ अस्पताल लगिएको नेपाली दूतावासले जनाएको छ । माघ २ गते दूतावासबाट एक कर्मचारी खटाई गुरुङको स्वास्थ्यस्थिति बुझ्न पठाइएकोमा त्यसको ४ दिनपछि मृत्यु भएको दूतावासले जनाएको छ ।

काजाङ अस्पतालले गुरुङको दुवै मृगौला बिग्रेका कारण हप्तामा तीन पटक डायलसिस गर्नु परेको र एक/दुई हप्तासम्म उपचारका लागि अस्पतालमा राखिने जानकारी दूतावासले परराष्ट्रलाई पठाएको थियो । तर उपचारकै क्रममा काजाङ अस्पतालमा मृत्यु भएको जेल प्रशासनले जानकारी दिएको छ । मृत्युदण्डको सजायपछि दुवै नेपालीलाई संगाइजेलकमा रहेको जेलमा राखिएको मृतकका दाजु रामबहादुरले बताए । मृतकको शवको अवस्था बुझन दूतावासबाट प्रतिनिधि पठाए पनि शव कहिले नेपाल पठाइने भन्नेबारे जानकारी नभएको आफन्तले बताएका छन् । उनको शव अस्पतालमै राखिएको छ ।

गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी श्रम मन्त्रालयलाई परराष्ट्रले गराइसकेको उहाँको भनाइ थियो । यता मृतकका आफन्तले भने बिरामी भएको पूर्णजानकारी सरकारले समयमा नगराएको आरोप लगाएका छन् । गुरुङको शव ल्याउन १ लाख २५ हजार रुपियाँ लाग्ने दूतावासले जनाएको छ ।

गुरुङ सन् २००३ मा नेपाल र्फकने क्रममा मलेसियाको एक होटलबाट लागूऔषध हेरोइन कारोबारको अभियोगमा पक्राउ परेका थिए ।

Posted in Uncategorized | Leave a Comment »

मोटरसाइकल दुर्घटनामा नायिकाको मृत्यु

Posted by dipakt on फ़रवरी 4, 2010

मधुसुधन गुरागाईं, बनेपा, माघ २१- काभ्रेको मंगलटारमा अधिकार नामक चलचित्रको सुटिङ सकेर काठमाडौ फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी नायिका महिमा (लक्ष्मी) पोखरेलको मृत्यु भएको छ। धम्बोजीचोक, नेपालगञ्ज स्थायी घर भएकी उनी काठमाडौं कालोपुल बस्दै आएकी थिइन्।

बिपी राजमार्गको काभ्रे, ट्याङ्की भन्ने ठाउँमा नायिका पोखरेल सवार बा २१ प ५५०२ नम्बरको पल्सर मोटरसाइकललाई बा २ प १६०८ नम्वरको ट्रिपरले ओभरटेक गर्दा ठक्कर दिएपछि दुर्घटना भएको हो। मोटरसाइकललाई ठक्कर दिँदा पोखरेल सडकमै खस्दा उनलाई ट्रिपरले किचेको स्थानीय प्रत्यक्षदर्शीले बताए। मोटरसाइकलबाट खसेर बाटोको छेउमा उछिटिट्एका चालक दिनेश खड्का भने गम्भीर घाइते भएका छन्।

काभ्रेली कलाकर्मी मञ्च र एसएस फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको उक्त फिल्ममार्फत् पोखरेल नायिकाको भूमिकामा आउन लागेकी थिइन्।

घाइते मोटरसाइकल चालक खड्काको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Posted in Uncategorized | Leave a Comment »

ग्यास गिजरले ज्यान लियो

Posted by dipakt on फ़रवरी 4, 2010

ऋचा अर्याल, काठमाडौ, माघ २१- जाडो याममा ग्यास गिजर नुहाउन तातो पानीको राम्रो स्रोत हुनसक्छ तर यसको प्रयोगले ज्यानै पनि लिनसक्छ भन्नेबारे कत्तिको सचेत हुनुहुन्छ?

ग्यासगिजरको प्रयोगले मान्छे बेहोस र मृत्युसमेत भएको फेला पर्न थालेको छ। काठमाडौं कोटेश्वर- ३५ शुभकामनामार्गकी १२ वर्षीया अप्सरा भण्डारी गत शनिबार दिउँसो ग्यासगिजरमा नुहाउँदै गर्दा बेहोस् भइन् र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो।

कोटेश्वरको डायना बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत अप्सरा रामहरि र रमा भण्डारीकी जेठी छोरी हुन्। पढाइमा तेज उनी अंकलहरूसँग कोटेश्वरमा बस्दै आएकी थिइन्।

परिवारका अनुसार शनिबार दिउँसो सवा १२ बजे बहिनी शारदालाई नुहाइदिएर बाहिर पठाई नुहाउने क्रममा दुर्घटना भएको हो। नुहाउन भनेर बाथरुम छिरेकी अप्सरा करिब आधाघण्टा भइसक्दा पनि ननिस्केपछि उनको खोजी थालिएको थियो। बहिनी शारदाले बाहिरबाट पटकपटक बोलाउँदा पनि बाथरुमबाट जवाफ नआएपछि उनले आफ्नी अन्टीलाई बोलाउन गएकी रहिछन्। ‘कपाल बाध्ने लविन्टोकी बाथरुममा छुटेर बोलाउन गईछ, भित्रबाट आवाज नआएपछि हामीकोमा आई’, उनी अन्टी विमलाले भनिन्,’ तल र्ओलेर ढोका तानी हेर्दा अप्सरालाई बेहोस अवस्थामा पायौ’। त्यसपछि तल बहालमा बसिरहेका बुवा राप्रपाका सभासद अलाउद्दीन अन्सारीलाई बोलाई काठमाडौ मेडिकल कलेज सिनामंगल अस्पताल पुर्‍याउदा डाक्टरले उनलाई मृतक घोषित गरेका थिए। उनीहरुका अनुसार अस्पतालमा डाक्टरले गिजरको केश हो भनी सोधेको र यस्तो घटना अचेल अस्पतालमा हप्तामा दशवटा सम्म आउने गरेको भनी त्यहा कार्यरत चिकित्सकहरुले बताएको खुलासा गरेका छन्।

अप्सराका अंकल बद्री भण्डारीका अनुसार करिब २० दिन अगाडी देखि पहेलो रंगको आगो बल्न सुरु गरेको गिजरले दश दिन देखि सामान्य कालो धुवा फाल्न सुरु गरेको थियो। ‘ धेरै कालो बल्न थालेपछि सोमबारदेखि निरनतर रुपमा कम्पनीलाई फोन गरी बोलाइरहेको थिए’, उनले भने,’ करिब सात पटक फोन गरेर गिजरको समस्याबारे बताउदा पनि उनीह्रु आएनन्।’। कम्पनीको लापरवाहीकै कारण छोरीले ज्यान गरमाउन पुगेको बताउने उनका अनुसार त्यसको दुई दिन अगाडी मात्रै पनि उनकी अनटी विमला यसको शिकार भएकी थिइन्।

‘पहिला त केही थाहा पाइन, विस्तारै विस्तारै भिक्स दले जस्तो चिसो भएको महसुस गरे’, गिजरमा नुहाउने क्रममा विहिवार दिउसो बेहोस हुन पुगेकी पीडित विमला भण्डारीले भनिन्,’ जिउ चिसो भएको केही समयमै झम्झमाउन थाली रिङ्गटा लाग्यो र बाहिर निस्कदा बेहोस भएछु’। पहिले त औषधीको डोज कम गर्नाले बेहोस भएको महसुस गरेको बताउने उनले छोरीको मृत्यु पछि मात्र तथ्य थाहा भएको खुलासा गरिन्। ‘टाउको दुख्ने रोग भएकोले दिनुह दुई ट्याब्लेट औषधी सेवन गर्दैथे’, उनले भनिन्,’ डाक्टरको सल्लाह अनुसार त्यही बेला डोज कम गरेकोले औषधीको कारण होला भन्ने मात्र भयो।’

यस कुराबाट उनीमात्र हैन, कोटेश्वरकै गौरी विष्टले झण्डै छाोरीको ज्यान गुमाउनु परेन। दिउसो कौसीमा घाम तापिरहेको अवस्थामा बाथरुममा नुहाउन गएकी छोरी एक्कासी ढलेको सुनेपछि उनी र उनका श्रीमान बाथरुममा कुदेका थिए। बल्लबल्ल ढोका खोल्दा त छोरी बेहोसी अवस्थामा भेट्यौ’, विष्ट भन्छिन्,’त्यसबेला त अरु नै रोग पो लागेछ कि भनने लाग्यो, अहिले सम्झदा झसंग हुन्छ’। आफ्नो नातेदारमा समेत यो घटना दोहरिन थालेपछि ग्यास गिजरकै प्रयोगका कारण यस्तो भएको थाहा पाएको बताउने उनका अनुसार छोरीलाई बाहिर निकाल्दा गिजरबाट कालो धुवा आइरहेको थियो। उनका अनुसार यो घटना उनको भान्जी र बनेपास्थित कुवर परिवारको ३०/३५ वर्षिया महिलालाई पनि घटेको थियो।

‘मेले सुने अनुसार एक महिना पहिले पनि १७ दिनकी सत्केरी गिजरमा नुहाउने क्रममै मरेको थाहा पाएको थिए’, अप्सराकी छिमेकी दुर्गा थापाले भनिन्, यसकै कारण बेहोस भएको भन्ने त निकै सुन्नमा आएको थियो’। यहि सुनेपछि आफ्नो भर छेउको अर्को छिमेकीले गिजर नै फोलेको बताउने उनका अनुसार उनले अहिलेसम्म यस्तो घटना ४/५ वटा फेला पारिसेककी छिन्।

ग्यास गिजरको प्रभाव

ग्यास गिजरबाट निस्कने कालो धुवामा कार्वन मोनो अक्साइड मिश्रित हुने गरेको विज्ञहरुको भनाई छ। कार्वन मोनो अक्साईड निस्कने क्रममा त्यसले शरीर भरी अस्सिजनको ठाउ ओगट्ने र शरीरमा अस्सिजनको कमी गराउने चिकित्सकको भनाई छ। ‘शरीरमा हुनु पर्ने हेमोग्लोविनमा अक्सिजनको सट्टा कार्वन मोनो अक्साईड गयास गएर बस्छ त्यसले शरीरका कोशिका नष्ट गर्छ’, मोडेल अस्पतालका जनरल फिजिसियन निरज नेपालले भने,’जसले गर्दा शरीरमा अक्सिजनको कमी हुन गई मान्छे बेहोस हुन पुग्छन्’। यसरी बेहोस भएको घटीमा दश मिनेटमा शरीरले फेरी उपयुक्त अक्सिजन नपाए ब्रेन डेथसमेत हुन सक्ने उनको भनाई छ। ‘गिजरकै कारण यसरी मृत भएको केश त खासै आछैन’, उनले नागरिकसित भने,’तर एसी बनाउने क्रममा यसरी कार्वन मोनो अक्साइडका कारण मृत्यु भएको चाहि धेरै फेला परेका छन्’।

Posted in Uncategorized | Leave a Comment »